कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता — OSNepal

कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

LC (KTM) October 08, 2021 0

काठमाडाँै, २२ असोज -भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले राससलाई जानकारी दिनुभयो ।सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा महतले जानकारी दिनुभयो ।

त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उहाँले बताउनुभयो । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिनुभएको पनि डा महतले बताउनुभयो ।उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर हुनुहुन्थ्यो ।भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर