दशैँको पहिलो दिन घटस्थापनामा बजारमा किनमेल गर्नेको घुइँचो — OSNepal

दशैँको पहिलो दिन घटस्थापनामा बजारमा किनमेल गर्नेको घुइँचो

LC (KTM) October 07, 2021 0

चितवन, २१ असोज । आज दशैँको पहिलो दिन घटस्थापना । नेपालीहरूलाई दशैँले छोइसकेको छ । बजारमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ । घटस्थापनामा सार्वजनिक बिदासमेत परेकाले चितवनको मुख्य शहर नारायणगढमा किनमेल गर्नेको घुइँचो लागेको हो ।

बजारमा अरू पसलमा भन्दा कपडा पसलमा बढी भीडभाड देखिन्छ । फुटपाथमा बेच्नका लागि राखिएका कपडा तथा फेन्सीजन्य सामग्री खरिदमा पनि उपभोक्ताहरूको भीड लागेको छ । फुटपाथमा हिँड्नै नमिल्ने गरी किनबेच गरिएको छ । दशैँको किनमेल गर्न बच्चादेखि वृद्धसम्म बजार पुगेका छन् ।

नारायणढका थोक पसलबाट जिल्लाका विभिन्न स्थानमा व्यापारीहरूले सामान किनेर लैजाने गर्छन् । भरतपुर, टाँडी, गीतानगरलगायतका स्थानमा बजार क्षेत्र बढ्दो क्रममा रहेको भए पनि अधिकांश उपभोक्ताहरू नारायणगढ नै पुग्ने गर्छन् । बेलुकीको समयमा बजारमा अझ बढी उपभोक्ताहरूको घुइँचो लाग्ने गर्छ ।

ठूलो बजार र आवश्यक पर्ने सबै सामान पाइने भएकाले नारायणगढ नै पुग्नुपरेको भरतपुर महानगरपालिका- ७ कृष्णपुरका रविकिरण पोख्रेलले बताए । ‘बजार ठूलो छ । आवश्यक परेका सबै सामान पाइएला, केही सस्तो पनि पाइएला भनेर आएको हुँ’, उनले भने, ‘बजारमा आज त भीडभाड धेरै रहेछ । सामान किन्नै मुस्किल परेको छ ।’

भीडभाड बढेपछि बजारमा ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । बजारमा सवारीको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।

‘सवारीको चाप बढेपछि भित्री बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । हामीसँग पर्याप्त जनशक्ति पनि छैन । पार्किङ गर्ने पर्याप्त क्षेत्र नभएर पनि बजार अस्तव्यस्त बनेको हो’, उनले भने । नारायणगढ बजारमा एक सिफ्टमा चार जना मात्र ट्राफिक प्रहरी खटाइएको उनले बताए ।

बिदाको दिन पनि भएकाले भीड बढेको हुन सक्ने नारायणगढ मिलनरोडका कपडा व्यापारी अरविन्द गुप्ताले बताए । ‘आज घटस्थापनाको दिन भएकाले होला, बजारमा हिजोअस्तिभन्दा अलिक भीड बढेको छ । व्यापार पनि भइरहेको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर