चरिकोट, १९ असोज – नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गर्नुभयो । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।
महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग-पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ । प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।
खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो । खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ ।