काठमाडौं असोज १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता युवराज ज्ञवालीले अहिले एकता आवश्यकता र विभाजन खतरा भएको बताएका छन् । विधान महाधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिनु आवश्यक भएको बताएका उनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा नबनाएको समेत खुलासा गरेका छन् ।
आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता ज्ञवालीले पार्टीभित्रको फरक मत यथावत् रहेको तर त्यसलाई खुला बहसमा नल्याएको बताएका छन् ।
‘विधान महाधिवेशनमार्फत कसैलाई सर्वेसर्वा तोकिएको छैन । हामीले हाम्रा फरक विचार स्थायी कमिटीको बैठकमा राखेका छौं ।यो सार्वजनिक खपत या खुला बहसको विषय होइन । किनभने विधान महाधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिनु थियो र विभाजन बेठीक थियो भन्ने साबित गर्नु थियो । अहिले एकता आवश्यकता हो, विभाजन खतरा हो ‘ ज्ञवालीले भने ।
एमाले विरुद्ध चौतर्फी हमला भएको बताएका उनले भिन्न मत ल्याउने नाममा विभाजित मनस्थिति नआओस् भन्ने सोचेर आफुहरुले फरक मत सबैका अगाडि नराखेको बताएका छन् ।
उनले अघि भने, ‘फुट र विभाजनलाई मदत पुर्याउने गरी नराखेका हौं । तर आफ्नो फरक विचार लिखित रुपमै दिएका छौं । हामी आफ्नो फरक मत राख्छौं, राखिरहन्छौं ।’
महाधिवेशनको १० वटै समुहले पार्टीका नेताहरुको सम्पति छानविन गर्नुपर्ने आवाज उठेका समेत उनले बताएका छन् । ‘कमिसन, भ्रष्टचार, चारित्रिक कुरा, खानपान, जीवनशैलीका विषयमा प्रस्ट धारणा राखेका छन् । अवैध आम्दानीको आलोचना गरेका छन्’ उनले भने ।