वाग्मती सफाइ महाअभियानको ४३८ औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ — OSNepal

वाग्मती सफाइ महाअभियानको ४३८ औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ

LC (KTM) October 02, 2021 0

काठमाडौँ, १६ असोज – वाग्मती सफाइ महाअभियानको ४३८औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित करिब २०० अभियानकर्मीको सफाइमा सहभागिता थियो ।

सफाइका क्रममा विगत हप्तामाभन्दा नदी किनारबाट अलि बढी फोहर उठेकोे समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिनुभयो । विगत हप्ताभन्दा बढी फोहर उठेको देखिएपनि उठाउन बाँकी फोहर पनि छिटो व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकालाई अनुरोध गरिएको उहाँले सुनाउनुभयो ।

विसं २०७० जेठ ५देखि शुरु भएको महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपको जोखिमका बेलासमेत महाअभियान निरन्तररुपमा हुँदै आएकोे छ । यसबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा सहायक नदी र चक्रपथका विभिन्न भागमा पनि सफाइ भइरहेको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदी, शहर र सांस्कृतिक सम्पदा पनि वाग्मती सफाइ महाअभियानकै प्रेरणाबाट सफाइ भइरहेको हो । हाल उपत्यका बाहिर करिब १०८ भन्दाबढी स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।

यसैगरी आजै काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपकथको उत्तरी र पश्चिमी भेग, मनोहरा, भक्तपुरको हनुमन्ते र ललितपुरको गोदावरी खोला पनि सफाइ गर्नाका साथै फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर