ईपीएल टी ट्वान्टी क्रिकेटमा लगातार चितवन टाइगर्सले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा पोखरा राईनोजलाई ९ विकेटले पराजित गर्दै चितवनले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । चितवनको लागि मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेका थिए । पोखराले चितवन समक्ष १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।
चितवनलाई जित दिलाउने क्रममा शाहजाद र सार्कीले अविजित १ सय २२ रनको साझेदारी गरेका थिए । शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन जोडे । सार्कीले ४२ बलमा ५४ रनको योगदान गरे । पोखराका बिक्रम सोवले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो ।
पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे । आजको जित संगै चितवन ३ खेलमा ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।