भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण गरिएका काभ्रेका छ विद्यालय एकैसाथ हस्तान्तरण — OSNepal

भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण गरिएका काभ्रेका छ विद्यालय एकैसाथ हस्तान्तरण

LC (KTM) September 30, 2021 0

बनेपा-भूकम्पपछि भारतीय दूतावासको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएका काभ्रेपलाञ्चोकका छ विद्यालय भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । जिल्लाका चौरीदेउराली गाउँपालिकास्थित खाँडादेवी माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाभित्रका आजाद माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र दुग्धेश्वर माध्यमिक विद्यालय, पनौती नगरपालिकाका शारदा माध्यमिक विद्यालय तथा बनेपा नगरपालिकाका आजाद माध्यमिक विद्यालयको भवन निर्माण कार्यसम्पन्न भएपश्चात् आज हस्तान्तरण गरिएको हो ।

बनेपामा एक कार्यक्रमको आयोजना गरी विद्यालयका भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सङ्घीय सांसद गङ्गाबहादुर तामाङ र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनमध्येको छ भवन निर्माण गरी हस्तान्तरण गरिएकामा खुशी व्यक्त गर्नुभयो । बनेका सुन्दर भवनबाट त्यसमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो भोलिको सुन्दर यात्राका निम्ति आरामदायी ढङ्गले विनातनाव ज्ञान प्राप्त गर्ने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।

उहाँले भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध मात्रै नभएर सांस्कृतिक, धार्मिक, सामाजिकलगायत बहुआयामिक सम्बन्धसमेत भएकाले आपासी सहयोगमा निरन्तरता रहेको बताउनुभयो ।पहिला नेपालमा विद्यालय नहुँदा नेपालका विद्यार्थी पढ्नका लागि बनारस र हरिद्वारलगायत ठाउँमा पढ्न जाने अवस्था रहेको उल्लेख गर्दै उहाँले अहिले भूकम्पपछिको पुनःनिर्माणमा विद्यालय भवन निर्माण गरेर शिक्षा क्षेत्रमा अर्को सम्बन्ध स्थापित भएको बताउनुभयो ।

सो क्रममा उहाँले बाँकी रहेका ठाउँका विद्यालय भवन पनि समयमा नै सम्पन्न गर्न निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । सङ्घीय सांसद गङ्गाबहादुर तामाङले शिक्षाको ज्योति सञ्चार गर्ने विद्यालयका भवन भूकम्पले भत्काएकामा त्यसलाई पुनःनिर्माण गरेर भारतीय सरकारले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो ।कार्यक्रममा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारकोतर्फबाट आर्थिक सहयोग गरेर विद्यालय भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुशि व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का निर्देशक रामशरण सापकोटाले सिकाइको प्रमुख थलो भएको विद्यालय क्षेत्र हिजो पनि कमजोर अवस्थामा रहेको र भूकम्पले झन् तहसनहस बनाएको अवस्थामा आवश्यकताका आधारमा देशभरिमा सात हजार ५८३ वटा विद्यालय भवन निर्माण गरिरहेको बताउनुभयो ।

विद्यालय भवन पुनःनिर्माणका क्रममा एशियाली विकास बैंक, जाइका र भारत सरकारको सहयोगमा देशैभरिका भवन निर्माणका क्रममा धेरै जस्तो सम्पन्न भइसकेको र केही बन्ने क्रममा रहेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाका गरी ७० वटा विद्यालय भवन र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तालय भवन निर्माण गर्न भारत सरकारले आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो ।

सो क्रममा भारत सरकारको आर्थिक सहयोगमा पहिलो चरणमा बनेका १० वटा विद्यालयमध्ये छ वटा भवन निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको सापकोटाले बताउनुभयो । बनेका विद्यालय भवन अब स्थानीय सरकारले सरसफाइ र मर्मतसम्भार गर्न मर्मतसम्भार कोष नै स्थापना गरेर पालिका प्रमुखले प्राथमिकतामा राखेर संरक्षण गर्नका लागि योजना बनाउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा निर्माण भएको १० विद्यालय भवन करिब ४१ करोडको लागतमा निर्माण भएर छ वटा हस्तान्तरण गरेको र बाँकी चार वटा निर्माणाधीन अवस्थामा छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रवप्रसाद शर्मा, पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

यसैबीच काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा भूकम्पपछि क्षति पुगेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी २५ श्ययाको नगरस्तरीय अस्पतालका रुपमा विकास गर्दै पुनःनिर्माण प्राधिकरणमार्फत भारत सरकारको आर्थिक सहयोगमा पुनःनिर्माण गर्न लागिएको भवनको आज पूर्वमन्त्री बाँस्कोटा, भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तव र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माले संयुक्तरुपमा शिलान्यास गर्नुभयो । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर