नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले योजना अनुसार नै पदबाट राजीनामा दिएको बताएका छन् । आज क्यानका सचिव र उपाध्यक्ष दुबैले पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनीहरुले क्यानलाई स्थापित गरे संगै अब राजिनामा दिएको बताएका छन् । एक समय सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । त्यस पछि निर्वाचन भएको थियो ।
उनीहरुले राजिनामा दिदै गर्दा यहि कुरा बताए । क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको प्याकुरेलको भनाई थियो । उनीहरुले क्यान आईसीसीको निलम्बनबाट पूर्ण फुकुवा भएपछि राजीनामा दिने सोच बनाएको भए पनि केही ढिला भएको जनाएका थिए ।
आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ सालको असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए ।यस्तै श्रेष्ठ पनि उपाध्यक्षमा निर्वाचित भएका थिए । उनीहरुको राजिनामा तथा पुर्व कप्तान पारष खड्काको सन्यास संगै नेतृत्व लिने इच्छा अब पुरा होला कि भन्ने क्रिकेट फ्यानहरुले आशा गरेका छन् ।