चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्स बिजयी भएको छ । उसले बिराटनगर वारियर्सलाई हराउँदै पहिलो जित निकालेको हो । आज भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवा बिजयी भएको छ ।
विराटनगरले दिएको ९० रनको एकदमै सामान्य लक्ष्य भैरहवाले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाएका थिए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए ।
करण केसी र बसन्त रेग्मीले समान एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रनको स्कोर खडा गरेको थियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाएका थिए ।भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले तीन तीन विकेट लिएका थिए ।
अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक एक विकेट लिएका थिए । आजको जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाडेको थियो । विराटनगरको यो लगातार दोस्रो हार हो ।