कोरोना महामारीकै बीच तनहुँमा थपिँदै नयाँ पर्यटकीय गन्तव्य — OSNepal

कोरोना महामारीकै बीच तनहुँमा थपिँदै नयाँ पर्यटकीय गन्तव्य

LC (KTM) September 27, 2021 0

दमौली, ११ असोज (रासस) : कोभिड–१९ का कारण डेढ वर्षदेखि मुलुक आक्रान्त छ । कोरोना महामारीबाट पर्यटन क्षेत्र पनि अत्यधिक मारमा परेको छ । कोभिड–१९ का कारण तनहुँका पर्यटकीय गन्तव्य लामो समयसम्म सुनसान रहे ।

पर्यटकको भीडभाड रहने गन्तव्य सन्नाटा छाउँदा व्यवसायी निराश बनेका छन् । कोरोना प्रभावकै बीच जिल्लामा नयाँ पर्यटकीय गन्तव्य थपिएका छन् । भीमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुङ्गा, म्याग्दे गाउँपालिका–२ मा रुखमाथि बनेको घर, म्याग्दे गाउँपालिका–५ मा थाङ्दी झरना र ब्यास नगरपालिका–५ स्थित मानुङकोट महामारीबीच अत्यधिक चर्चामा रहे ।

अग्लो ढुङ्गा र रुखमाथि बनेको घर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । मानुङकोट पनि यसबीचमा पर्यटीय क्षेत्रका रुपमा परिचित भयो । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको स्थानीयवासी शिवकुमार आलेले बताउनुभयो । “गन्तव्य बनाउनकै लागि ढुङ्गा सिङ्गारेर उद्यान बनायौं,” उहाँले भन्नुभयो, “यसले कोरोनाकै बीचमा थुप्रै आन्तरिक पर्यटकलाई तान्न सफल भयो ।”

घाङ्च ल्हुमको अर्थ मगर भाषामा अग्लोे ढुङ्गा हुन्छ । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा त्यसमै सीमित थिए । अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ । जङ्गलमा बेवारिसे ढुङ्गाको प्रयोग गरी चिटिक्कको उद्यान बन्ला भन्ने कोहीले कल्पना नगरेको वडा सदस्य बाबुराम राना बताउनुहुन्छ ।

“जङ्गलको बीचमा थियो । तीन वर्ष अघि जङ्गल फाँडेर देखिने बनायौँ । अहिले उद्यान बनेको छ”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सो उद्यान निर्माण गरिएको हो । उद्यान निर्माण गर्न स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् । उद्यान बनेपछि पर्यटक आउने क्र सुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो ।

“सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा तस्बीर प्रकाशन भएपछि पर्यटकको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।” उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी र चराको चुच्चोबाट पानीको फोहारा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपासको क्षेत्र ढुङ्गाले चिटिक्क पारिएको छ ।

भीमाद–९ मा नै चमेरो गुफामा अवलोकन विन्दु बनाइएको छ । चमेरो हेर्न गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । चमेरो लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । गतवर्ष विनियोजित रु २० लाखको लागतमा चार सय मिटर रेलिङसहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण गरिएको हो ।

कोरोनाकै बीचमा थपिएको अर्को पर्यटन गन्तव्य हो रुखमाथि बनेको घर । म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काईलो डाँडोमा निर्माण गरिएको घरले धेरै पर्यटकको ध्यान खिचेको छ । चिलाउनेको रुखमाथि बनाइएको काठको घरले धेरै पर्यटकलाई आकर्षित गरेपछि कोरोनाकै बीचमा केही समय उक्त ठाउँमा पर्यटकलाई प्रतिबन्धसमेत लगाइएको थियो ।

“यो ठाउँ पर्यटकीय गन्तव्य बन्न सफल भयो, धेरै पर्यटक आउने गरेका छन्”, सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले भन्नुभयो, “रुखलाई भित्रपट्टी पारेर काठले बनाइएको घर दुई तल्लाको छ । छानोसमेत काठैले छाएको यो घरलाई ‘ट्रि हाउस’ नामाकरण गरिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्रि हाउस’ यतिबेला भाइरल बनेको छ ।”

महामारीकै बीचमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन सफल भएको छ म्याग्दे गाउँपालिका–५ थाङ्दीमा रहेको थाङ्दी झरना । सुनसान खोँचमा रहेको उक्त झरनाको सुन्दरता नियाल्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । कान्छी बाराही मन्दिरसँगै रहेको सो झरना आन्तरिक पर्यटनको गन्तव्य बनेको छ । झरनाको दृश्य नियाल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्छ । तीन वर्षदेखि चर्चामा आएको झरना कोरोना महामारीको समयमा झन् चर्चामा आउन सफल भएको छ ।

ब्यास नगरपालिका–५ स्थित मानुङकोट पनि पछिल्लो समय गन्तव्यको रुपमा विकास भइरहेको छ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो अवस्थित छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको मस्त दृश्यपान गर्न लालायित आन्तरिक पर्यटकको भीडले गतवर्ष हलचल नै मच्चायो । कोरोनाको बेवास्ता गर्दै एकैदिन दश हजारभन्दा बढी पर्यटक मानुङकोटको डाँडो उक्लिए ।

ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले गत वर्षको दसैँपछि मानुङकोट एकदमै प्रचारमा आउन सफल भएको बताउनुभयो । “हामी निर्वाचित भएर आएपछि मानुङकोटको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन जुटिरहेका थियौँ । पूर्वाधार निर्माणकै चरणमा छ । तर गतवर्ष दसैँपछि पर्यटकको सङ्ख्या हवात्तै बढ्यो,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर