काठमाडौं ११ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गरेका छन् ।
आज सोमबार बसेको राष्ट्रिय सभाको बैठक अवरोध गर्नु भन्दा अगाडी नेता गुरुङले यस्तो बजेटलाई तत्काल खारेज गर्नुपर्ने माग राख्दै यस्तो बताएका हुन् ।
प्रतिस्थापन विधेयकमा उल्लेखित प्रावधान संविधानको मर्म र भावना विपरीत रहेको समेत उनले बताएका छन् ।
‘यहाँ जुन हिसाबबाट भूत प्रभावी कानून बनाएर कालोधनलाई सेतो बनाउने कुरा यो विधेयकमा आएको छ । यो असाध्य गम्भीर छ’ बैठकमा उनले भने ।
प्रतिस्थापन यो बजेटले कुन श्रमजीवि जनताका लागि यो सहुलियत दिइँदैछ ? उनले बैठकमा प्रश्न गरेका छन् ।
कालोधनलाई सेतो बनाउने प्रावधान तत्काल खारेज हुनुपर्छ माग राखेका उनले अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्दै भने, ‘यो क्रान्तिकारिता, यो सहुलियत, यो कालोधनलाई यत्रो दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारिता हो ?’