शुक्लागण्डकी नगरपालिकामा ७९ वर्षीय नेता चयन — OSNepal

शुक्लागण्डकी नगरपालिकामा ७९ वर्षीय नेता चयन

LC (KTM) September 26, 2021 0

तनहुँ, १० असोज-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार तनहुँका आठ स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगित भएको छ ।भिमाद नगरपालिकामा सहमतिको प्रयासका लागि भन्दै आइतबारसम्मका लागि अधिवेशन स्थगित गरिएकाे हाे । आज आइतबार सहमतिको प्रयास गरिनेछ । सहमति नभए मतदान प्रकृयाबाट टुंगो लगाउने जनाइएको छ । भिमादको नगर सभापतिमा रामकृष्ण राना र अर्जुन श्रेष्ठ दावेदार छन् ।

ऋषिङ गाउँपालिकामा पनि मतदान सुरु भएपछि अधिवेशन स्थगित भएको छ । गाउँपालिका सभापति पदका लागि दानबहादुर श्रेष्ठ, तिलबहादुर थापा र भोजराज रानाभाट चुनावी मैदानमा उत्रिएका थिए । सोमबारसम्मका लागि ऋषिङको अधिवेशन स्थगित भएको कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

अधिवेशन भएका आठमध्ये ६ स्थानीय तहको परीणाम आइसकेको छ । म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । उनले निकटम प्रतिष्पर्धी विनोद खनाललाई पराजित गर्दै सभापतिमा बाजी मारेका हुन् ।

आँबखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्त निर्वाचित भएका छन् । मतदानमा अर्का उम्मेद्वार प्रितम गुरुङलाई पराजित गर्दै पन्त सभापति बनेका हुन् ।बन्दिपुर गाउँपालिकाको सभापतिमा कर्ण खत्री निर्वाचित भएका छन् । खत्रीले ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रतिस्पर्धी वैँश गुरुङले ४५ मत प्राप्त गरे । एक मत बदर भएको थियो ।

देवघाट गाउँपालिकाको सभापतिमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सभापतिका दाबेदार अर्जुन अधिकारी पछाडि हटेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।भानु नगरपालिकामा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नविनराज दाहाललाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । श्रेष्ठले १ सय ३९ मत ल्याउँदा दाहालले १ सय २५ मत प्राप्त गरेका छन् ।

घिरिङ गाउँपालिकाको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित भए ।शुक्लागण्डकी नगरपालिकाको सभापतिमा ७९ वर्षीय नेता गोपीबहादुर गुरुङ सर्वसम्मत भएका छन् । उनीविरुद्ध उम्मेद्वारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । अरु पदमा भने निर्वाचन भएको छ । दुई सय २९ मतदाता रहेकोमा दुई जना अनुपस्थित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर