व्यास नगरपालिकामा एक करोडमा पीसीआर प्रयोगशाला सञ्चालनमा ,एकै पटकमा ९६ जनाको स्वाब परीक्षण गरिने — OSNepal

व्यास नगरपालिकामा एक करोडमा पीसीआर प्रयोगशाला सञ्चालनमा ,एकै पटकमा ९६ जनाको स्वाब परीक्षण गरिने

LC (KTM) September 24, 2021 0

दमौली, ८ असोज- कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ÷नौ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारसमेतमा समस्या प¥यो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफँै पीसीआर प्रयोगशाला स्थापना गर्ने पहल ग¥यो । सोही बमोजिम लामो समयको प्रयासपछि व्यास नगरपालिकाले पीसीआर प्रयोगशाला स्थापना गर्न सफल भएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाले व्यास–१० दुम्सीमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । पीसीआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रे्लियाले रु दुई÷दुई लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार १५६ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीसीआर प्रयोगशाला स्थापनार्थ रु एक करोड सात लाख ७६ हजार प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार २६८ खर्च भएको छ । प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार ७०० मा पीसीआर मेसिन, रु दश लाख २० हजार ३९० मा जेनेरेटर, रु ५७ लाख सात हजार १७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप÷कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।

पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरूपमा छिटोछरितो परीक्षण हुन्छ”, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबैको सहयोग र सहकार्यबाट पीसीआर प्रयोगशाला स्थापना गर्न सकिएको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो । सोही ठाउँमा नगरपालिकाले पाँच शैय्याको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ । कोभिड अस्पताललाई थप सुविधासम्पन्न बनाउने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घद्वारा तीन लाख हस्तान्तरण

पीसीआर प्रयोगशाला स्थापनार्थ तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार १५६ हस्तान्तरण गरेको छ । सङ्घले स्थापना गरेको कोभिड महाअभियान कोषमार्फत् उक्त रकमको चेक सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नगरप्रमुखलाई हस्तान्तरण गर्नुभयो । महाअभियान कोषमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सोही कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह र स्वास्थ्य संस्थासमेतमा स्वास्थ्य सामग्री वितरण गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर