धनगढी, ८ असोज-जिल्ला प्रहरी कार्यालय कैलालीले दशँै, तिहार र छठलाई लक्षित गरेर नयाँ सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप रोकेर आम नागरिकलाई निर्धक्क चाडपर्व मनाउन सहज हुने तरिकाले दशैँ सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनका अनुसार कैलालीमा सशस्त्र प्रहरीसँग सहकार्य गर्दै एकीकृत सुरक्षा योजना तयार गरेर सोहीअनुसार सुरक्षा परिचालन गरिने छ । त्यसका लागि प्रहरीले दुईवटा मिसन टोली तयार पारेको अधिकारीले बताए । उनका अनुसार दुईवटै मिसन टोली जिल्लाका एक सय ७३ स्थानमा परिचालित हुनेछन् । जसमा साढे ७ सय प्रहरी खटिनेछन् ।
चाडपर्वमा कैलाली छोडेर पुख्र्यौलीघर जाने नागरिकको संख्या उच्च हुने भन्दै उनले यसमा विशेष ध्यान दिने बताए । उनले घर छाडेर जाने नागरिकलाई नजिकको प्रहरी चौकी, प्रहरी बिट वा सशस्त्र प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।
‘जिल्लाका केही संवेदनशील क्षेत्रमा तालिम प्राप्त कुकुरको समेत प्रयोग हुने गरी योजना तयार गरेका छौं,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार रोक्न कडाइ गरिनेछ ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि कैलालीको चिसापानीदेखि अत्तरिया र अत्तरियादेखि फल्टुडेसम्म टाइम कार्ड लागु गरिनेछ ।