मुखाले कंगना माथि एक पछि अर्को समस्या बल्झिदै — OSNepal

मुखाले कंगना माथि एक पछि अर्को समस्या बल्झिदै

LC (KTM) September 24, 2021 0

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत र जावेद अख्तरबीचको खटपट सकिनुको साटो झन् तन्कँदै गएको छ । केही दिनअघि मुम्बईको उच्च अदालतले जावेदको मुद्दा खारेज गर्न कंगनाले दिएको उजुरी नमान्ने फैसला गरेको थियो । योसँगै अदालतमा उपस्थित हुन आनाकानी गरिरहेकी कंगनालाई अदालतमा हाजिर हुन पनि निर्देशन दिएको थियो । अदालतको आदेश पछ्याउँदै सोमबार अदालत पुगेकी कंगनाले जावेदको मुद्दामा सफाइ दिनुको साटो उल्टै उनीमाथि नै मुद्दा दायर गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री कंगनाले जावेदमाथि अपराधिक क्रियाकलाप गरेको र फिरौती मागेको जस्ता आरोप लगाएकी छन् ।

कंगनाले मुद्दा अर्को न्यायिक अधिकारीकोमा सार्न पनि निवेदन दिएकी छन् । उनले अंधेरीका न्यायिक अधिकारीप्रति आफ्नो भरोसा नभएको भन्दै मुद्दा अर्को ठाउँ सार्न आग्रह गरेकी हुन् । सौर्य दैनिकमा खबर छ । कवि गीतकार जावेदले गत वर्ष कंगनाले एउटा टेलिभिजन अन्तर्वार्तामा विनासन्दर्भ आफूमाथि गलत आरोप लगाएको र त्यसले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै मुम्बईको अन्धेरीमा मुद्दा दर्ता गराएका थिए ।

एउटा टेलिभिजन अन्तर्वार्तामा कंगनाले जावेदलाई बलिउडको खास ‘कोटरी’ को संरक्षण गर्ने गरेको र उनले ऋतिक रोसनसँगको विवादको समयमा उनीविरुद्ध नबोल्न धम्की दिएको आदि आरोप लगाएकी थिइन् । जावेदले कंगनाले लगाएको आरोपमा कुनै सत्यता नरहेको र उनको अन्तर्वार्ताले आफ्नो छवि खराब भएको भन्दै क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर