गठवन्धन सरकारले हाम्रो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको छ : राजन भट्टराई — OSNepal

गठवन्धन सरकारले हाम्रो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको छ : राजन भट्टराई

LC (KTM) September 22, 2021 0

काठमाडौं असोज ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले गठवन्धन सरकारले आफ्नो पार्टीलाई मुठभेडतिर जबर्जस्ती धकेल्न खोजिरहेको आरोप लगाएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका उनले यस्तो खुलासा गरेका हुन् । सरकारका निकम्मा र जनविरोधी निर्णयको विरुद्धमा संसद्देखि सडकसम्म बताएका उनले सदनदेखि सडकसम्म जानु आफ्नो अधिकार भएको दावी गरेका छन् ।

उनले कार्यक्रममा भने, ‘हामीले सरकारका निकम्मा कामको निरन्तर विरोध गरिरहेका छौं । सभामुखको गलत रवैयाविरुद्ध संसद्मा अवरुद्ध गरिरहेका छौं । सदनभित्र र आवश्यक परेमा बाहिर पनि विरोधमा जान्छौं । सरकारले गरेका गम्भीर बदमासीलाई प्रतिपक्षले टुलुटुलु हेरेर बस्दैन । सदनदेखि सडकसम्म जानु हाम्रो अधिकार हो ।’

यो सरकारले आफ्नो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको समेत आरोप लगाएका उनले भने, ‘महामारी नियन्त्रण तथा बाढीपहिरो पीडितको समस्यामा यो सरकारलाई कुनै मतलब छैन खाली कसलाई हटाउने भन्ने खेलमात्र गरिरहेको छ । यो सरकार यहाँ भन्दा नांगिने ठाउँ के छ र १ महामारीविरुद्धको भ्याक्सिनमा समन्वयन गरिरहेका राजदूतहरुलाई एकैचोटि फिर्ता बोलाउँदा गलत सन्देश गएको छ । गैर जिम्मेवार सरकारसँग यो भन्दा बढी के अपेक्षा गर्ने ?’ ।

यो सरकारले कानुनले दिएको काम मात्र गरोस् भन्ने आफ्नो चाहाना रहेको भन्दै उनले अघि भने,’सरकारले हाम्रो कार्यालयमा पुलिस प्रशासन लगाएर गुन्डागर्दी गरिरहेको छ । हामी त्यसको सशक्त प्रतिवाद गर्छौं । तर हामी मुठभेडमा जान चाहँदैनौं । मुठभेड हाम्रो प्राथमिकता होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर