ओलीकै कारण नेकपाको एकता भाँडिएको भन्दै माधव लगाए यस्ता गम्भिर आरोप — OSNepal

ओलीकै कारण नेकपाको एकता भाँडिएको भन्दै माधव लगाए यस्ता गम्भिर आरोप

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । म‌गलबारबाट सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा, लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र, गफाडी, अहंकारी र दम्भी स्वभावको नेता भएको टिप्पणी गरेका छन् ।

ओलीको सोही स्वभावले कसैसँग मिल्न नसक्ने उनले बताए । ओलीको दम्भकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना भएको उनको आरोप छ । ओलीकै कारण नेकपाको एकता भाँडिएको र उनकै कारणले नेकपा एमालेको एकता पनि तोडिएको बताएका छन् ।

‘संसद्‍मा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढंगले भए पनि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो,’ प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाउने काम त भयो । तर, अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ । ’

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको उनले बताए । ‘अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोचको छ । जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ’, उनले भने, ‘अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका उल्लेख गरिएको छ ।’

यस्ता छन् नेपालले ओलीलाई लगाइएका आठ आरोप

– दक्षिणपन्थी चिन्तन

– सत्ता लिप्सा र लोकतन्त्र विरोधी

– स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी

– अहंकारी र दम्भी स्वभाव

– निरकुंश, स्वेच्छाचारी र व्यक्तिवादी

– अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी

– विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन

– गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर