मरिन्छ कि भन्दै विद्यालय आउँछन् विद्यार्थी — OSNepal

मरिन्छ कि भन्दै विद्यालय आउँछन् विद्यार्थी

LC (KTM) September 22, 2021 0

जाजरकोट, ५ असोज- २१ वर्षअघि सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका- ५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धरापमा परिणत भएको छ ।सरोकारवाला निकायले विद्यालय भवन निर्माणमा ध्यान नदिँदा धराप बनेको स्थानीयबासी बताउँछन् । राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको उनीहरूको भनाइ छ ।

पाँच जना शिक्षक कार्यरत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । वर्षायाममा विद्यालय भत्किने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुला आकाशमा पठनपाठन हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताए ।

‘म अध्यक्ष वैशाखमा भएको हुँ । विद्यालय निर्माणका लागि धेरै पटक पालिकामा पनि गए । मुस्किलले यस आर्थिक वर्षका लागि दुई लाख रकम विनियोजन गरिएको छ’, उनले भने । दुई लाख रकम भनेको हात्तीको मुखमा जिरा जस्तै हुने उनको भनाइ छ ।

विद्यालयको अवस्था दयनीय भएपछि विद्यार्थीहरू पढ्न छाडेर छिमेकी मस्टा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा जाने गरेको स्थानीय प्रकाश चन्दले जानकारी दिए ।

लामो समय हिँडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानुपरेको विद्यार्थी अशोक चन्दले बताए । ‘पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर छ’, उनले भने । विद्यालयमा खानेपानी, शौचालयसमेत नहुँदा विद्यार्थीले दुःख खेप्ने गरेका छन् ।

छ कोठे जीर्ण भवनभित्र सबै काम गर्नुपर्दा हैरान भएको अध्यक्ष चन्दले बताए । ‘सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो । कसैले हेरेका छैनन्’, उनले भने । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको अवस्थाप्रति गम्भीर भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर