माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ? — OSNepal

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

LC (KTM) September 21, 2021 0

पोखरा, ५ असोज -नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानीमा स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको बताए । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्‍यो,’ उनले भने, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’

उनले सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको आरोप पनि लगाए । ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो,’ बास्कोटाले भने, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उनले विरोध जनाए ।

एमसीसी विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उनको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् । वैदेशिक सहायता मजाकको कुरा हो ?,’ उनी भन्छन्, ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन ? कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।’

एमाले विभाजन नभएको दावी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्‍यौं,’ उनले भने, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे । माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ? आफैलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् ?’ उनले संसद अवरोध कायम रहने पनि स्पष्ट पारे ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले मिडियाको घाँटी थिच्नेगरी कुनै पनि कानून स्वीकार्य नभएको सुनाए । ‘मिडिया विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उनले भने, ‘तर मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ । आँफै करेक्सन हुनुपर्छ ।’प्रदेशका मिडिया विधेयकहरु सैद्धान्तिक हिसाबले पास नहुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर