आगलागीले ध्वस्त बनेको दोभान बजार जुर्मुराउँदै — OSNepal

आगलागीले ध्वस्त बनेको दोभान बजार जुर्मुराउँदै

LC (KTM) September 21, 2021 0

ताप्लेजुङ-ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार पछिको दोस्रो ठूलो दोभान बजार स्थापित हुदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरूको पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुदै गएको हो ।

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको संगमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत १९ फागुनमा बिहान भीषण आगलागी भएको थियो । ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरुप अर्थात् मुहार फेरिँदै गएको छ ।

हालसम्ममा ७० प्रतिशत संरचनाहरू पुनर्निर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।करिब डेढ दर्जनभन्दा बढी घर संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको छ ।

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको बराइली बताउँछन् ।ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवा लगायत निकासी हुने सबै वस्तुहरू दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्रको रूपमा दोभान बजार रहेको छ ।

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनर्स्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । आगलागीबाट ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर