मुगु-मुगुको मुगुम् कार्मारोङ्ग गाउँपालिका–८ मांग्री गाउँमा २०५८ सालमा स्थापना भएको च्याप्नेगाढ जलविद्युत आयोजना हालसम्म पनि बल्न सकेको छैन । निर्माण सम्पन्न भएको २० वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा नआएको हो ।
यो जलविद्युत आयोजनाबाट २५ किलोवाट विद्युत उत्पादन गरी साबिकको मांग्री गाविसको माग्री गाँउ, मह गाँउका तीन सयभन्दा बढी घरधुरीलाई लक्षित् गरि निमार्ण गरिएको थियो ।
साविकको जिल्ला विकास समितिको कार्यालय मुगुअन्तर्गत रहेको दुर्गम विकास क्षेत्रबाट सञ्चालित यस च्याप्नेगाढ साना जलविद्युत आयोजनाको जिम्मा पाएको राधा कन्टक्सनले ५८ लाखमा ठेक्का लिएको थियो । करिब एक करोड १४ लाखभन्दा बढि रकम खर्च भइसकेको छ ।
च्याप्नागाड जल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ्ग लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत बाल्न नसकेको बताउँछन् । आयोजनाको नाममा आएका विद्युतका पोल, अन्य तारवारहरू अलपत्र अवस्थामा परेका छन् भने स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् ।