नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइयो, २१ मूर्ति फर्कने क्रममा — OSNepal

नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइयो, २१ मूर्ति फर्कने क्रममा

LC (KTM) September 18, 2021 0

ललितपुर-पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताउनुभएको छ । नेपाल सम्पदा पुनर्जागरण अभियानले आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन् ।” यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराउनुभयो ।

चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको पनि उहाँले आँैल्याउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडा नं १६ पटकोबाट २०४२ सालमा चोरिएको कमलाज विष्णु अर्थात लक्ष्मीनारायणको मूर्ति यही वैशाख १६ गते आफूहरुले पाटन दरबार सङ्ग्रहालयमा फर्काउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“यस मूर्ति पुनःस्थापना गरिसकेपछि फेरि हराउन सक्ने भन्दै सिसिटिभी, सडकबत्ती राख्ने खर्च महानगरपालिकाले गर्नेछ ।”

यसैगरी पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाउनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नुपर्ने हुन्छ ।”अभियानका सञ्चालक रोशन मिश्रले आफूहरुले धेरै सङ्ग्रहालयलाई पत्राचार गरी चोरीएका मूर्ति फर्काउन अनुरोध गरेको बताउनुभयो । महानिर्देशक गौतम र प्रमुख महजर्नले संयुक्त रुपमा ललितपुरमा आज सो अभियानको शुभारम्भ गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर