नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन — OSNepal

नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन

LC (KTM) September 17, 2021 0

गोरखा, १ असोज – नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । चार महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हेल्थडेक्सबाट नियमित रुपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक स्वास्थ्य परीक्षण गरिँदै आएको उहाँले बताउनुभयो । “टाढाटाढाबाट आउने भक्तजनसँग पुजारी, सुरक्षाकर्मी र कर्मचारी नियमित सम्पर्कमा रहने हुँदा कोरोनाको जोखिम बढी हुन्छ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “त्यसकारण उहाँहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ ।”

त्यस्तै मन्दिरमा आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था हेल्थडेक्सबाट गरिएको छ । “बाहिर जिल्लाबाटसमेत भक्तजन मन्दिरमा पूजा गर्न आउन सुरु भएको छ”, उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम अझै उच्च रहेकाले मन्दिरमा आउने भक्तजनहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने, मास्क नलगाई आउने भक्तजनहरुलाई मास्क लगाउन लगाउने काम पनि हेल्थ डेक्सबाट गरिदै आएको छ ।”

मास्क नलगाई आउने भक्तजनलाई गाउँपालिकाले मन्दिर परिसरभित्रै निःशुल्क मास्क उपलब्ध गराउने गरेको छ । दैनिक हेल्थडेक्समा एक स्वास्थ्यकर्मी नियमित रुपमा रहने व्यवस्था गाउँपालिकाले मिलाएको छ । उहाँले भन्नुभयो, “हेल्थडेक्सबाट ज्वरो नाप्ने, रुघाखोकीको समस्या भएमा तत्काल अन्य भक्तजनबाट छुट्टै राखेर उपचार गर्छौ ।’’

तेस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला मन्दिर व्यवस्थापन समितिले सङ्क्रमणबाट सुरक्षित रहनका लागि मन्दिर परिसरमा आउने भक्तजनलाई भौतिक दूरी कायम गर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराउँदै आएको छ । गएको वैशाख २३ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर यही भदौं २३ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

न्दिरमा पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामग्री पुजारीलाई दिएर पूजा गर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले मिलाएको छ । मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बली दिने स्थानमा छुट्टै पुजारीको व्यवस्था मिलाइएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । मन्दिर खुल्ला गरिएसँगै दैनिक सयौँ भक्तजन मनकामना मन्दिरको दर्शन र पूजाका लागि पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर