संयुक्त राष्ट्रसंघ, ३० भदौ – संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए ।
ती देशहरुले कम्तीमा पनि १ अर्ब २ करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशहरुले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए । संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।
संयुक्त राष्ट्रसंघका तर्फबाट महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन मंगलबार भन्नुभएको हो ।यसअघि अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको थियो । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने बताएको थियो ।
अफगानिस्तानको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गर्नुभएको हो ।
उहाँले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताउनुभएको छ ।गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।
अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउनुभयो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताउनुभएको थियो । (रासस÷सिन्ह्वा)