भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा प्रहरी कार्यालयलाई सडक डिभाइडर हस्तान्तरण — OSNepal

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा प्रहरी कार्यालयलाई सडक डिभाइडर हस्तान्तरण

LC (KTM) September 15, 2021 0

धनुषा,  – प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले   २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई सडक डिभाइडर हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि थन्क्याएर राखिएका रु ४८ लाख मूल्य बराबरको साना तथा ठूला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो ।

सडक डिभाइडर हस्तान्तरण गर्दै मन्त्री यादवले आवश्यकतानुसार जनकपुरधामसहित प्रदेश २ का आठवटै जिल्लाका मुकाममा तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशनसमेत दिनुभयो । मन्त्री यादवले डिभाइडरले सडक सुरक्षा गरिनुका साथै सडक दुर्घटना हुनबाट जोगाउन मद्दत पु¥याउने व्यक्त गर्नुभयो ।

उहाँले ठाउँठाउँमा सडक सङ्केतको आवश्यकता रहेको भन्दै प्रदेश २ का प्रमुख बजारको सडकपेटी अव्यवस्थित र व्यापारीबाट कब्जा गरिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका मुख्य सडकखण्डमा अहिले कङ्क्रिटले बनाइएको डिभाइडर राखिएको छ । भीडभाड तथा सवारी साधनको अत्याधिक चापले गर्दा समयसमयमा दुर्घटना हुने गरेकाले सोको विकल्पको खोज्दै आवश्यकतानुसार साना तथा ठूला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई मन्त्री यादवले निर्देशन दिनुभएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपानेलगायतको उपस्थिति थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर