टलक्क टल्केको स्मार्ट सिटीको योजनालाई गिज्याउँदै फोहोरका थुप्राहरु — OSNepal

टलक्क टल्केको स्मार्ट सिटीको योजनालाई गिज्याउँदै फोहोरका थुप्राहरु

LC (KTM) September 14, 2021 0

चितवन, २९ भदौ । फोहोर फाल्ने डम्पिङ साइट फेला नपरेपछि भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा फोहोर थुप्रिएको छ । ठाउँ–ठाउँमा थुप्रिएको फोहोरले भरतपुर महानगरको स्मार्ट सिटीको योजनालाई गिज्याइरहेको छ ।

बजारमै फोहोर डम्पिङ हुने समस्या जनप्रतिनिधि आउनुअघि देखिकै हो । जनप्रतिनिधि आएको चार वर्षसम्म पनि समस्या उस्तै छ । महानगरको मेयरमा रेनु दाहाल निर्वाचित भएर आएपछि उनले भरतपुरलाई स्मार्ट सिटी बनाउने भनि अभिव्यक्ति दिँदै आएकी छन् । तर, फोहोर व्यवस्थापनमा भने महानगर असफल नै बनेको छ ।

फोहोर व्यवस्थापन गर्न नसकेर महानगरका जनप्रतिनिधि र कर्मचारी नै जनताको प्रश्नप्रति नाजवाफ भएका छन् । महानगरको गाउँक्षेत्रबाट फोहोर नउठेको करिब १५ दिन भइसकेको छ । बजार क्षेत्रमा फोहोर नउठेको तीन दिनभन्दा बढी भइसक्यो । भरतपुर–१, २ र ३ मा पर्ने नारायणगढ बजारमा थुप्रिएको फोहोरबाट दुर्गन्ध मात्रै फैलिएको छैन, बजार नै कुरुप देखिएको छ ।

फोहोर नउठेपछि आफैँ पीडित बनेको भरतपुर–३ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले बताए । ‘कहिले १० दिनमा, कहिले १५ दिनमा आएर फोहोर उठाउने गरेको छ’, उनले भने, ‘पहिला भरतपुर–३ को नगरवनमा फोहोर फाल्थ्यो । स्थानीयले नदिएपछि भरतपुर–२३ मा फाल्दै आएको थियो । त्यहाँपनि स्थानीयले करोडौँको योजना माग गरेर अवरोध गरेपछि फोहोर उठेको छैन ।’

भरतपुर महानगरबाट दैनिक ६५ देखि ७० टनसम्म फोहोर निस्किन्छ । महानगरका २९ मध्ये १२ वटा वडाका घरबाट शुल्क लिएर फोहोर उठाउन निजी क्षेत्रलाई ठेक्का दिइएको छ । १० वटा वडाको फोहोर महानगर आफैले उठाउँछ । महानगरले नगरवनमा फोहोर डम्पिङ गर्नेगरी ठेकेदारसँग सम्झौता गरेको थियो । २५ किमी पर लगेर फाल्नुपरेपछि समयमै फोहोर उठाइसक्न ठेकेदारलाई हम्मे–हम्मे परेको छ ।

‘ठेकेदारको लागत बढेपछि उसलाई त्यसबापतको पैसा दिउँ भनेको हो । तर, महानगरमा बस्ने कर्मचारीले दिन मिल्दैन भनेकाले कुरा नमिलेर फोहोर नउठेको हुनसक्छ’, उनले भने, ‘यो महिनामा त बोर्ड बैठक पनि बसेको छैन । हामी आफैँ पीडित छौँ । जनताले पनि किन फोहोर उठेन भनेर हैरान बनाएका छन् ।’ फोहोर व्यवस्थापनको विषय अन्यौल बनेको उनी बताउँछन् । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण गर्न आफ्नै वडामा जग्गा उपलब्ध गराएपनि त्यसको काम अघि बढ्न नसकेको उनले बताए ।

महानगरले १५ वर्षदेखि नारायणगढको पुलचोकबाट दक्षिणतर्फ नारायणी छेउमा पर्ने नगरवनमा फोहोर डम्पिङ गर्दै आएको थियो । स्थानीयले त्यसठाउँमा फोहोर फाल्न नदिएपछि दुई वर्षअघिदेखि हिउँदमा नारायणीको बीचमा बनेको टापुमा र बर्खामा २५ किमी पर भरतपुर–२३ धुव्र ल्याण्डफिल साइटमा फोहोर डम्पिङ हुँदै आएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले फोहोर फाल्ने ठाउँ नपाएपछि फोहोर उठाउन नसकिएको बताउँछन् । ‘फोहोर फाल्न भरतपुर–१ र ३ तिरै ठाउँ खोजिरहेका छौँ’, उनले भने, ‘फोहोर भनेपछि सबैले अफ्ठ्यारो मान्छन् । अरु ठाउँ खोजिरहेका छौँ । छिट्टै नै फेला पारेर फोहोर उठाउने भनेर लागिरहेका छौँ ।’

नारायणी किनारमा नै फाल्ने गरी ठाउँ खोजी भइरहेको उनले बताए । महानगरकी मेयर दाहालले चालू आव २०७८÷७९ मा स्यानिटरी ल्याण्डफिल साइट निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाइने बताएकी छन् ।

आव २०७५÷७६ मा निजी तथा कार्यक्रम प्रस्तुत गर्दा पनि उनले ल्याण्डफिल साइटलाई समेटेकी थिइन् । १५ महिनामा ल्याण्डफिल साइटको डीपीआर बनाउन महानगर र दक्षिण कोरियाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसन बीच २८ भदौ २०७५मा सम्झौता पनि भएको थियो । तर, अहिलेसम्म पनि डीपीआर सार्वजनिक भएको छैन ।

ल्याण्डफिल साइटको प्रारम्भिक डीपीआर बनिसकेको र अरु काम पनि छिट्टै गर्ने भनेर कोरियन कम्पनीले प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए । भरतपुरमा फोहोर व्यवस्थापन अन्य ठाउँमाभन्दा चुनौतीपूर्ण भएको बताउँदै उनले ल्याण्डफिल साइट नबन्दासम्म यसरी नै काम चलाउने बताए । कतै पनि फोहोर फाल्न नदिइएपछि महानगरले आफ्नै कार्यालय परिसरमासमेत फोहोर डम्पिङ गरेको थियो । अहिले पुनः त्यस्तै स्थिति बनेको छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार ल्याण्डफिल साइट निर्माण गर्न एक करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । ल्याण्डफिल साइट निर्माण गर्न सरकारले तत्कालीन भरतपुर उपमहानगरलाई नै भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वन अन्तर्गतको १५ बिगाहा जग्गा उपलब्ध गराएको हो । पर्याप्त जग्गा पाएर पनि महानगरले ल्याण्डफिल साइटको कामलाई मूर्त रुप दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर