काग स्पर्शजनित दोष मेटाउन हजारौँ भक्तजन पुगे कागेश्वरी धाम — OSNepal

काग स्पर्शजनित दोष मेटाउन हजारौँ भक्तजन पुगे कागेश्वरी धाम

LC (KTM) September 14, 2021 0

कागेश्वरी (काठमाडौँ), २९ भदौ- कागले छोएमा र शरीरमा कागको विष्टा परेमा अशुभ भयो भनी दोष मुक्तिको उपाय खोजी गर्ने प्रचलन प्राचीनकालदेखि हाम्रो समाजमा रहेको पाइन्छ । यो दोषबाट मुक्तिको पहिलो उपायका रुपमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी महादेवको दर्शन हो भन्ने मान्यता छ ।

वर्षभर कागले छोएका मानिस भाद्र शुक्ल अष्टमीका दिन पूजा आराधना एवं दर्शनका लागि यहाँ आउने गर्छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको काक गङ्गेश्वर घाटमा स्नान गरी त्यहाँको जल लिएर कागेश्वरी धाम जाने गरिन्छ । यसै मान्यताका आधारमा बिहानैदेखि हजारौँ भक्तजनको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी अर्थात् कागेअष्टमीसमेत भनिने आजकै दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी कुनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजाआराधना गरेमा कागको स्पर्शबाट हुने दोषबाटमुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

कागेश्वरीलाई हरियो मकै-यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । यस विश्वासका आधारमा हरियो मकै बोकेर आउन भक्तजनको पनि कागेश्वरी महादेव मन्दिर क्षेत्रमा भीड लागेको छ । श्रावण शुक्लपूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट भक्तजनको भीड लाग्छ । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । कागेश्वरी धामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न नगरपालिकाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । धाम जान पहिलेको भन्दा सडक सुधार गरिएको छ । यहाँको महत्वका विषयमा प्रचारप्रसार गर्ने कामलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

नेपाल र विश्वकै ठूला कागका मूर्ति-मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सव शुरुवात् गरिएको छ । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ । कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली लगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।

कागेश्वरी उत्पत्तिको कथा-सत्य युगमा वन विहार गर्न निस्कनु भएका भगवान् महादेव धेरै दिनसम्म कैलाश फर्कनु भएन । खोज्न निस्कनु भएकी माता पार्वतीले धेरै तिर भौतारिँदा पनि महादेवलाई भेट्नुभएन । भगवती पार्वती निराश भएर कैलाश फर्कनै लाग्नुभएको थियो । त्यति नै बेला चिसो काग अहिले कागेश्वरी महादेव रहेको स्थानमा ध्यानमग्न महादेवलाई आफ्नो चुच्चोमा च्यापेको जल चढाउन का…का… गरेर कराएको सुनियो । माता पार्वतीले उक्त स्थानमा के रहेछ ? भनी हेर्दा भगवान् महादेवलाई फेला पार्नु भएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

कागले आजकै दिनमा काक गङ्गेश्वर घाटमा स्नान गरी ध्यान गरिरहनु भएका महादेवलाई जल अर्पण पश्चात् भगवानको दर्शन गरेको विश्वास रहेको स्थानीय सुशील सिम्खडाले बताउनुभयो । यो घाट हाल गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा पर्छ । कागेश्वरीलाई स्कन्द पुराणको हिमवत्खण्ड महापुराणअन्तर्गत नेपाल माहात्म्यमा महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ ।

प्राचीनकालदेखि नै कागेश्वरी धाम र सुन्दरीजल स्थित काक गङ्गेश्वर घाटबीच अन्योन्याश्रित धार्मिक सम्बन्ध छ । आज कागेश्वरी जाने सबै भक्तजन काक गङ्गेश्वर घाटमा पहिले स्नान गरेर जल लिई चढाउन जाने गर्छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर