खुला दिसामुक्त जिल्लाको दुर्दशा : बाटो हिड्दा पनि नाँक थुनेर हिड्नु पर्ने बाध्यता — OSNepal

खुला दिसामुक्त जिल्लाको दुर्दशा : बाटो हिड्दा पनि नाँक थुनेर हिड्नु पर्ने बाध्यता

LC (KTM) September 13, 2021 0

कपिलवस्तु, २८ भदौ-खुला दिसामुक्त घोषणा हुनेमा नेपाल दक्षिण एसियाकै पहिलो देश हो । १३ असोज २०७६ मा नेपाल औपचारिक रूपले खुला दिसामुक्त घोषणा भएको थियो ।

हतारमा खुला दिसामुक्त घोषण भए पनि तराई-मधेसका ग्रामीण भेगका बस्तीलाई हेर्ने हो भने झारा टार्ने काम मात्र भएको छ यसबीचमा । घोषण भएको दुई वर्ष बित्दासमेत कपिलवस्तुका ग्रामीण भेगमा भे सडक छेउ तथा खेतबारीमा खुला शौच गर्ने प्रचलन अझै कायम छ ।

भारतीय सीमासँग जोडिएका पालिकामा शौचालय प्रयोगविहीन भई जीर्ण भएपछि खेतमा दिसा गर्ने प्रचलन बढेको छ यहाँ । यस जिल्लालाई ३१ भदौ २०७६ मा खुला दिसामुक्त घोषणा गरिएको थियो । २०६७ सालदेखि खुला दिसामुक्त घोषणाका लागि संचालन गरेको अभियान ११ वर्षमा पूरा भएको थियो ।

जिल्लाका १० वटा पालिकामा ९१ हजार ३२१ घर धुरीमा शौचालय बनेपछि तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले जिल्ला खुला दिसामुक्त भएको घोषणा गरेका थिए ।

मधेसी समुदायमा अझै पनि खुला शौच हुने गरेको महाराजगंज नगरपालिका-४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सुशीलकुमार चौधरीले बताए । गाउँ मात्र होइन, नगरभरीको अवस्था यस्तै छ । ‘अभियानका क्रममा बनेका शौचालय प्रयोगविहीन भएका छन् । केही फेरि बनाउनुपर्ने अवस्थामा छन् । ग्रामीण भेगका गरिब जनतासँग शौचालय बनाउनका लागि रकमको जोहो गर्न गाह्रो परेको छ । दोस्रो पटक शौचालय निर्माणका लागि अनुदान दिँदा बेरुजु हुने समस्या छँदै छ,’ चौधरीले भने ।

अभियानका क्रममा समुदायलाई सचेत गराउनुको सट्टा जबर्जस्ती शौचालय बनाउन लगाएपछि स्थानीयले अपनत्व ग्रहण गरेका थिएनन् । अधिकांश बस्तीमा शौचालय नै छैनन् । जसले शौचालय बनाएका छन्, प्रयोग गर्न मिल्ने अवस्थाका छैनन् । भएका शौचालय ढाकेर लाज नमानी खेतमा गएर खुला शौच गर्ने गरेको महाराजगंज- १ का युवा अगुवा अभिशेखमणि यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर