चीनबाट आएको दुई करोडको स्वास्थ्य सामग्री महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण — OSNepal

चीनबाट आएको दुई करोडको स्वास्थ्य सामग्री महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण

LC (KTM) September 13, 2021 0

चितवन -चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क छ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान हस्तान्तरण गरिएको हो ।

सो अवसरमा महानगर प्रमुख दाहालले मित्र राष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताउनुभयो । यसले स्वास्थ्य कर्मीलाई काम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । “यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी र कर्मचारीलाई सही सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

सो अवसरमा छिङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताउनुभयो । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उहाँको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताउनुभयो । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । उहाँका अनुसार सिगात्सेको यो दोस्रो पटकको सहयोग हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर