बागलुङको कालिका भगवती मन्दिर आजदेखि खुल्ने — OSNepal

बागलुङको कालिका भगवती मन्दिर आजदेखि खुल्ने

LC (KTM) September 13, 2021 0

यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीसहित सबै मठमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला हुने भएका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि धार्मिक क्षेत्र बन्द थिए ।

आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्ड पूरा गरेर मठमन्दिर खोल्ने निर्णय गरेको हो । मन्दिरको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्नुपर्ने, दर्शनार्थीको ज्वरो नाप्ने, अनिवार्य मास्क प्रयोग र पूजाको लाममा रहँदा भौतिक दूरी कायम गर्नुपर्ने नियम तोकिएको छ ।

कोरोनाको दोस्रो लहर भित्रिएपछि कालिका भगवती, सर्वसिद्धिधाम पञ्चकोटलगायत यहाँका धार्मिक पर्यटकीय गन्तव्यस्थल ठप्प थिए । मन्दिरमा दैनिक नित्य पूजापाठ मात्र हुँदै आएको थियो । कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खड्काले मन्दिर परिसरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिने बताउनुभयो । बडादशैँ पनि नजिकिँदै गएकाले सुरक्षित तबरले भक्तजनलाई पूजापाठको प्रबन्ध गरिने उहाँको भनाइ छ । दशैँको नवदुर्गामा कालिका भगवतीको विशेष पूजाआजा हुन्छ । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मठमन्दिरसँगै चलचित्र घर, पार्टी प्यालेस, खेलकुदस्थल, जिमखाना, सौन्दर्य व्यवसाय, तालिम केन्द्रलगायत पनि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।

चलचित्र घर आधा क्षमतामा चलाउने र अनलाइन टिकट बेच्नुपर्ने मापदण्ड बनाइएको छ । सरकारले तोकेको ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रहेर स्थानीय तहले केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न पाउने भएका छन् । सभा, सम्मेलन, मेला, उत्सवजस्ता भीडभाडजन्य क्रियाकलापमा भने अझै बन्देज लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर