फुटबलर पुनमलाई मुटुको समस्या, शल्यक्रिया गर्नुपर्ने — OSNepal

फुटबलर पुनमलाई मुटुको समस्या, शल्यक्रिया गर्नुपर्ने

LC (KTM) September 12, 2021 0

काठमाडौं, २७ भदौ – राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पुनम जर्घा मगरको मुटु शल्यक्रिया गर्नुपर्ने भएको छ । गत हप्ता गरिएको ‘फिफा प्रि कम्पिटिसन मेडिकल एसेसमेन्ट’ (पीसीएमसी) खेलअघिको स्वास्थ परीक्षणमा पुनमको मुटुमा समस्या देखिएको थियो ।

समस्या देखिएसँगै २४ भदौमा बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा पुनम टोली बाहिर थिइन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको २३ सदस्यीय टोलीमा रहेकी पुनमको खेलअघि गरिएको पीसीएमसी रिपोर्टअनुसार मुटुमा समस्या देखिएको हो ।

शुक्रबार गरिएको पुनः परीक्षणको रिपोर्ट शनिबार आएको थियो । रिपोर्ट पुनः उही आएको र अब शल्यक्रिया हुने पुनमले न्युज कारखानालाई बताइन् । ‘रिपोर्ट पुरानै आएको छ । अब, शल्यक्रिया गर्नुपर्छ भन्नुभएको छ,’ सन् २०१४ यता राष्ट्रिय टोलीको नियमित सेन्टर डिफेण्डर रहेकी पुनमले भनिन् ।

‘मुटुमा जाली हाल्नुपर्छ भन्नुभएको छ । अब डराउनु पर्दैन । तत्काल खेल्न पाउन्न । १/२ हप्तामा रिकवरी हुन्छ भन्नुभएको छ,’ डाक्टरको भनाई उद्धृत गर्दै पुनमले न्युज कारखानासँग भनिन् ।

त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेण्डरसमेत रहेकी पुनम रौतहट टोलीको पूर्वसदस्य हुन् । उनले ०६७ सालयता आर्मीबाट खेल्दै आएका छन् ।

बंगलादेशसँगको खेलअघि सम्म टोलीसँगै अभ्यास गरेकी पुनम पीसीएसमी रिपोर्टसँगै खेल्न छाडेकी हुन् । अब उनी एएफसी एसिया कप छनोटमा टोली बाहिर रहने छिन् ।

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा पुनमलाई १२औं खेलाडी बनाएर मैदानमा पठाइएको थियो । टोलीका अफिसियलसमेत रहेका पूर्वमुख्य प्रशिक्षक हरि खड्काले पुनमको मनोबल बढाउन उनलाई १२औं खेलाडी बनाएर मैदान पठाएको न्युज कारखानालाई बताएका थिए ।

पुनमले न्युज कारखानासँग बोल्दै शल्यक्रियापछि नै आफू कति बाहिर बस्ने यकिन हुने बताइन् । उनले बताएअनुसार धेरै समय लागे महिना दिनमा मैदान फर्किने छिन् । ‘मैदानबाट कति समय बाहिर हुन्छु अहिले भन्न सक्ने अवस्था छैन । त्यो शल्यक्रिया पछि थाहा हुन्छ,’ पुनमले भनिन्, ‘नशाबाट शल्यक्रिया गरियो भने १ हप्तामै ठिक हुन्छ । चिरफार शल्यक्रिया गरियो भने ३–४ हप्ता मैदान फर्कन समय लाग्छ ।’

विराटनगरमा भएको साफ च्याम्पियनसिपमा सेट पिसमा अगाडि बढ्दै पुनमले श्रीलंकाविरुद्ध नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । पुनमको यो राष्ट्रिय टोलीबाट पहिलो गोल थियो ।

१२औं खेलाडीको रुपमा पुनम मैदान प्रवेश गरेको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । नेपालको जितमा दुबै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रिती राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर