कांग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग — OSNepal

कांग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ -नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।

पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गर्नुभएको छ ।

हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ ।

यस्तै आजै कांग्रेसले अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनको मिति संशोधन गरेको छ । उक्त निर्णयप्रति पनि युवा नेताले ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । युवा नेता डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर