ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्ष फतिमाको शिष्टाचार भेट — OSNepal

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्ष फतिमाको शिष्टाचार भेट

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो ।

भेटका अवसरमा उहाँहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीसहितको सहभागिता थियो । अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर