माधव नेपालले एमसीसी उपाध्यक्षलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’ — OSNepal

माधव नेपालले एमसीसी उपाध्यक्षलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

LC (KTM) September 10, 2021 0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । बिहीबार नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताउनुभएको छ । उहाँले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताउनुभएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

‘चार वर्षदेखि थाँती रहेको विषय छ यो । अहिले हामी संयुक्त सरकारमा हौँ । हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भन्नुभयो, ‘यो नेपाली जनतासँग जोडिएको विषय हो । नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस् ।’

उहाँका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन् ।

उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन् ।

‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन । हामी दबाब दिनका यहाँ आएका होइनौँ’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन् ।

भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिनुभयो थियो ।

‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ । स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर