सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ ।पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको हो । अङ्ग्रजी र नेपाली दुवै भाषाको नाम स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
पुलको नयाँ नामसँगै जिल्लामा पर्यटन भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको उद्घाटन गरेर पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कारसमेत घोषण गरेको बागलुङ नगरपालिकाले सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकामा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृत भएको हो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो ।बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको सो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।