कोरोना संक्रमण घटेकोमा डब्लूएचओका महासचिव खुशी — OSNepal

कोरोना संक्रमण घटेकोमा डब्लूएचओका महासचिव खुशी

LC (KTM) September 07, 2021 0

काठमाडौं-विश्व स्वास्थ्य संगठनका महानिर्देशक (डब्लूएचओ) डा. टेद्रोस अधानोम घेब्रेसियसले नेपाललगायत दक्षिण–पूर्वी देशमा कोरोना भाइरसको संक्रमण घटेकोमा खुशी व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको नेपालमा सुरु भएको ७४औं बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले दक्षिण–पूर्वी क्षेत्रमा गत बैशाख महिना संक्रमणको संख्या बढेको र अहिले आएर संक्रमण तथा मृत्यु दरमा कमी आएको भन्दै खुशी व्यक्त गरे ।

‘देश र ठाउँपिच्छे संक्रमणको अवस्था फरक-फरक छ । केही देशमा संक्रमण अझै तीव्र रूपमा वृद्धि भइरहेको छ । अस्पतालहरू भरिएका छन्,’ उनले भने, ‘हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन ।’

उनले कोभिड–१९ महामारीले विश्वभर नै मानव जीवन तथा आर्थतन्त्रमा ठूलो क्षती पुर्‍याएको बताए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामा र नियन्त्रणका लागि दक्षिण–पूर्वी एसियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् ।

उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको बताउँदै अन्तराष्ट्रिय तथा क्षेत्रीय स्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले जनताका लागि सरकारले खोप, औषधी, उपकरण तथा प्रविधिलाई प्राथमिकतामा राखेको बताए ।

बैठकमा क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालले कोभिड–१९ ले स्वास्थ्य प्रणालीमा निकै ठूलो क्षति पुर्‍याएको धारणा राखेका थिए । ‘हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनःप्राप्त गर्नु छ । क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनःनिर्माण गर्नुछ,’ उनले भने ।

यही भदौ २५ गतेसम्म भर्चुअल रूपमा हुने बैंठकमा यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्चपदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागि रहेको छ । नेपालले यस सम्मेलनदेखि आगामी एक वर्षका लागि समितिको अध्यक्षका रूपमा कार्य गर्ने छ ।

बैंठकमा दक्षीण पूर्वी एसियाली राष्ट्रहरूमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरू, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरूमा गहन छलफल गरिने बताइएको छ ।

बैठकमा नेपाल, बंगलादेश, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्रीहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर