सात महिने बालकको मृत्यु भएपछि हस्पिटल संचालकसहित डाक्टर फरार — OSNepal

सात महिने बालकको मृत्यु भएपछि हस्पिटल संचालकसहित डाक्टर फरार

LC (KTM) September 05, 2021 0

सिन्धुली, २० भदौ- ‘दोषीलाई कारबाही नभएसम्म हामी शव उठाउँदैनौँ । दोषीलाई कानुनी कारबाही हुनै पर्छ, पीडितले क्षतिपूर्ति पाउनुपर्छ’, तीनपाटन गाउँपालिका- २ भीमस्थानको ओम शान्ति हेल्थ केयर हस्पिटल अगाडि सय जनाभन्दा बढी स्थानीय भनिरहेका थिए ।

एक बच्चाको शव अगाडि राखेर न्याय माग्दै थिए उनीहरू । हस्पिटलको लापर्बाहीका कारण सात महिने बालकको ज्यान गएको भन्दै बालकको शव अगाडि राखेर स्थानीयले आइतबार हस्पिटल घेराउ गरेका हुन् । खुट्टामा आगोले पोलेर उपचारका लागि उक्त हस्पिटलमा ल्याइएका बालकको उपचारमा खटिएका डाक्टरले ओभर डोजको औषधि दिएका कारण मृत्यु भएको पीडितले बताएका छन् ।

मृतक बालकका मामा रामधन तामाङका अनुसार गत ३१ साउन दिउँसो खेल्ने क्रममा बच्चाको खुट्टा आगोमा परी घाउ भएपछि उपचारका लागि नजिकैको ओम शान्ति हेल्थ कियर हस्पिटलमा लगिएको थियो । हस्पिटलमा एक सातासम्मको उपचारपछि बच्चाको घाउ निको हँुदै गएकाले डिस्चार्ज गरी घर ल्याएको उनले सुनाए ।

‘६ भदौमा हामीले डाक्टरको सल्लाहमै बच्चालाई घर ल्यायौँ । बच्चालाई अलिक ठिक पनि भएको थियो’, बच्चाका मामा तामाङले भने, ‘खुट्टाको घाउ फेरि विस्तारै पाक्न थाल्यो, यही हस्पिटलमा बेलाबेला घाउ सफा गर्न लगिरहेका थियौँ ।’

बच्चाको घाउ ठिक नभएपछि बाहिर उपचारका लागि लैजाने तयारी गर्दासमेत हस्पिटलका संचालक भुवन कटुवालले बच्चालाई बाहिर लैजानबाट रोकेको उनले बताए । ‘यहीँ उपचार हुन्छ भन्दै हस्पिटलका संचालक भुवन कटुवालले बाहिर लैजान दिनुभएन’, उनले भने, ‘१६ भदौमा यहीँ राखेर उपचार गर्न थाल्यौँ । १६ गते दिउँसो घाउ सफा गर्ने भन्दै डाक्टरले बच्चालाई दुखाइ कम गर्ने सुई लगाइदिए । त्यसपछि बच्चा बेहोस भयो, राती ८ बजे बच्चाको होस आउँछ भन्दै यहीँ राख्यौँ ।’

तर, बच्चाको बिहान ६ बजेसम्म होस नआएपछि हस्पिटलका संचालक कटुवालले नै एम्बुलेन्स बोलाई काडमाडौं लैजानु भनेको उनले बताए । सबै उपचारका लागि लाग्ने खर्च आफैँले बेहोर्ने भन्दै संचालक कटुवालले बच्चाको उपचारका लागि काठमाडौंको पाटन अस्पताल पठाएको उनले सुनाए ।

तर, पाटन अस्पतालले बच्चालाई ल्याउन ढिला भएको भन्दै मृत्यु भइसकेको बतायो । कटुवालले आफ्नो गल्ती स्वीकार गरेर क्षतिपूर्ति बेहोर्ने बताएको तामाङले सुनाए ।

‘हस्पिटलका संचालक कटुवालले सबै गल्ती स्वीकार्नुभएको थियो । क्षतिपूर्तिसमेत बेहोर्ने बताउनुभएको थियो’, तामाङले भने, ‘केही दिन कटुवाल हामीसँगै हुनुहुन्थ्यो । केही दिनपछि वडा अध्यक्ष र प्रहरीले कटुवाललाई छाड्नु भन्दै मेरो भाइलाई कल गर्नुभयो । १९ भदौ पोस्टमार्टम गर्ने बेला शव बुझ्नका लागि कटुवाललाई खोज्दा उहाँ हुनुहुन्नथ्यो ।’

त्यसपछि उनी सम्पर्कविहीन भएको तामाङको भनाइ छ । पोस्टमार्टम रिपोर्टमा समेत बच्चाको ओभर डोज औषधिका कारण मृत्यु भएको पाइएको उनले सुनाए ।

अहिले बच्चाको शव हस्पिटल अगाडि राखेर दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै स्थानीयले घेराउ गरिरहेका छन् । हस्पिटलका संचालक, कर्मचारीलगायत सम्पूर्ण फरार रहेको स्थानीयले बताएका छन् ।

दोषीलाई कारबाही नभएसम्म बच्चाको दाहसंस्कार नगर्ने पीडितले अडान लिएका छन् । साथै, स्थानीयले विरोध गर्दै तीनपाटन–चकमके सडकसमेत बन्द गरेका छन् ।

यता, तीनपाटन गाउँपालिका- २ का वडा अध्यक्ष हेमबहादुर श्रेष्ठ भने आफू पीडितको पक्षमा नै रहेको बताउँछन् । दोषीलाई कानुनी कारबाही हुनुपर्ने भन्दै आफू पनि लागिरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर