खोटाङ- नेपाली सेनाले खोटाङको त्रि–धार्मिकस्थल हलेसीको गुफाभन्दा माथि रहेका रुख तथा चोइटिएर अड्किएका चट्टानका टुक्रा हटाएको छ ।
गोरखनाथ गण मुढे ब्यारेक दिक्तेलका गणपति प्रमुख सेनानी नरोत्तम पौडेलसहितको सेनाको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महादेव गुफा र बसाहा गुफाभन्दा माथि रहेका बोटबिरुवा, त्यसका जरा र गुफाको पहरामा चोइटिएर अड्केर रहेका चट्टान हटाएको हो ।
दुई गुफाभन्दा माथि रहेका रुख र पहरा चर्किएर चोइटिएका चट्टानका स–साना टुक्रा हटाउन नगरपालिका तथा हलेसी मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेपछि सेनाले हलेसी गुफाको भित्तामा रहेका जोखिमयुक्त वस्तु हटाएको जनाएको छ ।
बसाहा गुफा र महादेव गुफाको माथि रहेका बोटविरुवाको जरा बढ्दै जाँदा गुफाको भित्तामा रहेका चट्टान चोइटिएर गुफाभित्र खस्न थालेकाले मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनलाई लाग्ने र जुनसुकै समयमा मानवीय क्षति पुग्ने सम्भावना रहेकाले गुफाभन्दा माथि रहेका जराहरु र चोइटिएर अड्केका चट्टानका टुक्रा हटाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए।
पहराको कापमा उम्रिएका रुखको जरा बढ्दै जाँदा र चट्टान फाट्दै जाँदा हलेसी गुफामा बेला–बेलामा चोइटिएको चट्टानको टुक्रा खस्ने गरेको छ ।