खोला कटानले जरेबर बस्ती जोखिममा — OSNepal

खोला कटानले जरेबर बस्ती जोखिममा

Kesh Karki (USA) September 04, 2021 0

दमौली, १९ भदौ (रासस) ः तनहुँको शुक्लागण्डकी नगरपालिका–११ जरेबर बस्ती खोला कटानले जोखिममा परेको छ । क्याङ्दी र बर खोलाको कटानले यो बस्ती जोखिममा परेको हो ।केही दिनदेखि परेको अविरल वर्षाका कारण यी दुई खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीयवासी त्रसित बनेका छन् । यहाँका स्थानीयवासीले वर्षौंदेखि कटानको समस्या भोग्दै आएका छन् ।कटान रोक्नलाई बृहत् तटबन्धन नहुँदा खोला बस्तीतर्फ आइरहेको स्थानीयवासी सानुमाया महतले जानकारी दिनुभयो । खोलाको कटानले यहाँका १० घर उच्च जोखिममा परेका छन् । यस ठाउँमा दुई दर्जनभन्दा बढी घर छन् । दुवैतर्फ खोलाले कटान गरेपछि बर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उहाँले बताउनुभयो । “कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए । कटानले खाली जमिन सकिँदैछ । खोलाको बहाव घटेको छैन, कतिबेला के हुने हो, त्रासमा छाँै”, उहाँले भन्नुभयो ।

गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो । बस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो । खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताउनुभयो । बस्ती जोगाउनलाई बृहत् गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उहाँको सुझाव छ ।यसैगरी क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका–८ अरौदीको बस्ती पनि जोखिममा परेको छ । क्याङ्दी खोलाको बहाव बस्तीतर्फ आएपछि जोखिम बढेको हो । कटानकै कारण चार घर विस्थापित भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अरौहीको बस्तीमा ६५ घरधुरीको बसोबास छ । अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहे पनि पूरै बस्ती जोखिममा परेको श्रेष्ठले बताउनुभयो ।

“असारमा बस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौँ । अहिले फेरि खोला बस्तीतिर सोझिएको छ”, उहाँले भन्नुभयो । अरौदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पूरै बगाएको छ । असारमा कटान भएपछि केही समय ठूला सवारी चल्न सकेनन् । खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो । अहिले निरन्तर एक साता परेको अविरल वर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही बस्ती पुनःयातायात सञ्जालबाट सम्पर्कविच्छेद भएका छन् ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गठननेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गण्डकीले तनहुँमा सङ्घलाई विस्तार गरेको छ । दमौलीमा आज सम्पन्न भेलाले काशीनाथ भट्टराईको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो । समितिको उपाध्यक्षमा शमशेरबहादुर गैह्रे र सुकबहादुर गुरुङ, सचिवमा ईश्वरप्रसाद पोख्रेल, कोषाध्यक्षमा भरत विक तथा सदस्यमा गणेश थापा, उमेश पौडेल, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराई र सन्तोष विक चयन चयन हुनुभएको छ ।भेलालाई सम्बोधन गर्दै नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकूदमा भइरहेको विकृति अन्त्यका लागि जोड दिनुभयो । उहाँले नेपालको मार्सल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टस्ले खेलकूदका विकृतिविरुद्ध आवाज बुलन्द गर्ने बताउँदै भन्नुभयो, “हामी खेलको विकाससँगै खेलकूदको विकासमा तगारो बनेको विकृतिविरुद्धसमेत एक ढिक्का भएर अघि बढ्नेछौँ ।”

नेपाल केन्पो खुकुरी मार्सल आर्टस सङ्घ गण्डकीका उपाध्यक्ष एवं तनहुँका इञ्चार्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकाल, नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ कास्कीका उपाध्यक्ष मोहन भट्टराई लगायतले बोल्नुभएको थियो ।

एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन पहलतनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको हो ।वडा कार्यालयले गौरवको योजनाका रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा गत वर्ष इञ्जिनीयरिङ कन्सलटेन्सीले डिपिआर निर्माण गरेको थियो । एक्लेडाँडामा बुद्धको मूर्तिसहितका पूर्वाधार निर्माणका लागि माटो परीक्षण कार्य पनि सम्पन्न भएको छ ।

वडा कार्यालयले नयाँ गन्तव्यका रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताउनुभयो । “सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौँ”, रेग्मीले भन्नुभयो ।

डिपिआरअनुसार यस ठाउँमा पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार ४०१ बजेट आवश्यकपर्ने देखिएको छ । दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडामा गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत लेखनाथदेखि म्याग्देसम्मबाट देखिने गरेर स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गर्ने योजना छ । उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ ।एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजनासमेत डिपिआरमा समावेश गरिएको छ । कोरोना कहर र निषेधाज्ञाका बीचमा नै यस ठाउँमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । पर्यटक बढ्न थालेपछि गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाखमा २५० मिटर पदमार्ग निर्माण गरिएको छ । “यो पदमार्गलाई दुई किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसँग जोड्ने लक्ष्य राखेका छौँ”, रेग्मीले भन्नुभयो ।

ठूलो बजेट आवश्यकपर्ने भएकाले यसका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिने रेग्मीले बताउनुभयो । “नगरपालिकाको एक्लैको बजेटबाट मात्र यो सम्भव छैन, तीन तहकै सरकारको सहभागितामा यो काम पूरा गर्छांै”, उहाँले भन्नुभयो ।सामाजिक सञ्जालमार्फत् विभिन्न ठाउँको प्रचारप्रसार हुने क्रममा यस ठाउँले पनि चर्चा बटुलेको छ । शनिबार र चाडपर्वका बेलामा दैनिक २००÷३०० सम्म आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी टीका अधिकारीले जानकारी दिनुभयो । “अहिले त सामाजिक सञ्जालले जुनसुकै ठाउँलाई भाइरल बनाइरहेको छ, यहाँ पनि आन्तरिक पर्यटकको भीडभाड बढिरहेको छ”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण गर्न सकिए अझ राम्रो हुन्थ्यो ।”एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा स्थानीय पनि खासै उक्लिदैनथे । यो गाईबाख्रा चराउने ठाउँ थियो । तर अहिले घुम्ने ठाउँ बनेको अधिकारी दङ्ग हुनुहुन्छ । “घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर