नेपालकै यस्तो ठाँउ जहा खोला तर्न पैसा तिर्नुपर्छ — OSNepal

नेपालकै यस्तो ठाँउ जहा खोला तर्न पैसा तिर्नुपर्छ

LC (KTM) September 02, 2021 0

खोटाङ, १७ भदौ- उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका नागरिक शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य बनेका हुन् ।

राँकुली खोलामा हिउँदयाममा पानी सुके पनि वर्षायाममा भने भेल उर्लिने गरेका कारण माेटरसाइकल तार्न शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए ।

खोटाङका पाँचवटा पालिकाका स्थानीय वर्षायाममा उदयपुरहुँदै पुर्वी शहर आवत–जावत गर्दा राँकुली खोला तर्नुपर्ने हुन्छ । राँकुली खोलामा वर्षायाममा माेटरसाइकल तार्न न्यूनतम ५ सयदेखि ३ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेकाे छ । सो खोलामा वर्षायाममा आसपासका स्थानीयले पैसा लिएर माेटरसाइकल तार्ने गरेका छन् ।

६ जनाकाे समूहले काठकाे साहारामा काँधमा हालेर माेटरसाइकल तार्ने गर्दछन् । ठाडो खोला भएकाले सो बाटोबाट यात्रा गर्ने स्थानीयले शुल्क तिरेर खोला तर्नुको विकल्प नभएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । वर्षायाममा माेटरसाइकल तथा यात्रुलाई खोला तार्दा स्थानीयले राम्रो आम्दानी गर्ने गरेका छन् ।

गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोसी पुल निर्माण सम्पन्न नभएसम्म जिल्लाबासीले राकुँली खोला तर्न शुल्क तिर्नुकाे विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर