रोनाल्डोको कीर्तिमानमा पोर्चुगलले निकाल्यो शानदार जित, दुवै गोल हेडमार्फत गरेका थिए रोनाल्डोले — OSNepal

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलले निकाल्यो शानदार जित, दुवै गोल हेडमार्फत गरेका थिए रोनाल्डोले

LC (KTM) September 02, 2021 0

काठमाडौँ, १७ भदौ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ११० र १११ गोल गरेका हुन् । दुबै हेड गोल गर्नुअघि रोनाल्डोले पेनाल्टी चुकाएका थिए ।

आयरल्याण्डका १९ वर्षीय गोलरक्षक गाभिन बाजुनुले खेलको १५औँ मिनेटमा रोनाल्डोको पेनाल्टी बचाउ गरेका हुन् ।

यसअघि खेलमा आयरल्याण्डले ४५ मिनेटमा अग्रता बनाएको थियो । जोहन एगानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समय सम्हालिन नसक्दा आयरल्याण्ड तीन अंक गुमाउन बाध्य भयो ।

दोस्रो पटक इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडमा अनुबन्धन भएका रोनाल्डोले खेलको ८९औँ मिनेट र थपिएको छैटाैँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकसहित आफ्नो नाममा कीर्तिमानी लेखाए ।

यसअघि अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि डाईले १०९ गोल गर्दै सो कीर्तिमान आफ्नो नाममा राखेका थिए । अलिले सन् १९९३ बाट २००६ सम्म खेल्दा १०९ गोल गरेका थिए ।

फिफा विश्वकप छनोटमा पोर्चुगल समूह ‘ए’ मा छ । उसले चार खेलबाट १० अंक बनाएको छ । साेही समूहमा सर्बिया सात अंकसहित दोस्रो, लक्जमवर्गको ६ अंकसहित तेस्रो स्थानमा रहँदा आयरल्याण्ड र अजरबैजानले अंक तालिकामा खाता खोल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर