‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा — OSNepal

‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

Kesh Karki (USA) September 01, 2021 0

झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेषरूपमा मनाउने गर्दछन् ।मेचीनगर नगरपालिका–७ मदनबस्तीमा राजवंशी युवाले चिल्लो बाँसको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे । सो प्रतियोगितामा मेचीनगर–७ का देवलाल राजवंशी प्रथम हुनुभएको थियो । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो । ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यताअनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउनुहुन्थ्यो । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान् श्रीकृष्णको आराधना गरिन्छ ।

हिलो भएको स्थानमा अग्लो बाँसको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बाँस चढेर नरिवल र नगद हात पार्ने प्रतिस्पर्धा गर्दछन् । बाँस चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बाँसका टुप्पोमा पनि तेल राख्ने गरिन्छ । यसबाट चढ्न खोज्दा बाँस हल्लिएर झन् चिल्लो हुन्छ । स्थानीयवासी पुनलाल राजवंशीले यो खेल परापूर्वकालदेखि चलिआएको बताउनुभयो । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडका रूपमा लिने गरेका छन् ।कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीयवासी युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर