काठमाडौँ १५ भदौ । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष चयन नै नगरी नयाँ केन्द्रीय समिति घोषणा गरेको छ ।
भदौ १२ बाट सुरु भएको राष्ट्रिय भेलामा अध्यक्ष्य चयन नभएपछि आज दुई सय ३१ जना सदस्य हुने गरी केन्द्रीय समितिको घोषणा गरेको हो ।
घोषणा गरिएको केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित १० प्रतिशत मनोनित सदस्यको टुंगो भने बाँकी रहेको छ ।
यस विषयमा आज छलफल गर्न वाइसिएल नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
दुवै बिच भएको छलफलमा अहिले नेतृत्व विना नै नयाँ केन्द्रीय समिति घोषणा गरी केहि दिनमा नै आफु समेत सहभागी भई अध्यक्ष तथा महासचिव चयन गर्ने अध्यक्ष प्रचण्डले बताएका थिए ।
सोही छलफलको आधारमा आज मंगलबार वाइसिएलले नयाँ केन्द्रीय समिति घोषणा गरेको हो । नेतृत्वको चयन गर्न नसक्दा दुई दिनको भेला चार दिन लागेको हो ।