आप्रवासन सहायता कक्ष — OSNepal

आप्रवासन सहायता कक्ष

Kesh Karki (USA) August 31, 2021 0

वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्ष गरेर बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । “वैदेशिक रोजगारमा जान लागेका र त्यहाँबाट फर्किएकाहरुलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।”

गत वैशाख महिनादेखि सञ्चालन ल्याइएको कक्षमा हालसम्म ५००भन्दा बढीले परामर्शलगायत विभिन्न सेवा पाएका छन् । कक्ष सञ्चालन गर्न पुस्तकालयले एक कर्मचारी नियुक्त गरेको छ । वैदेशिक रोजगारमा जाने धेरैले परामर्श गर्ने भएकाले कक्ष प्रभावकारी बनेको कर्मचारी कमला पौडेलले बताउनुभयो ।सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्रीे छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका देखिन्छ । यो सङ्ख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भइ विदेश जानेको हो । पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक जाने क्रम बढेको बताइन्छ । उनीहरुले वार्षिक रु पाँच अर्बको हाराहारीमा विप्रेषण पठाउने गरेका छन् ।

यसैबीच पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापित पुस्तकालयलाई आज पुस्तक उपलब्ध गराएको छ । चौधौँ पुस्तकालय दिवसका अवसरमा अध्यक्ष रावलले प्रजिअ गणेशबहादुर अधिकारीमार्फत प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङलाई विभिन्न विधाका ३० थान पुस्तक र मास्क प्रदान गर्नुभयो ।जिल्लाको एक मात्र सुविधासम्पन्न सामुदायिक पुस्तकालय विसं २०२७ मा स्थापना भएको थियो । विभिन्न विधाका १० हजार पुस्तकसहित बाल, सङ्गीत र खेलकक्ष रहेको पुस्तकालयलाई ऋणमुक्त बनाएर नेतृत्व हस्तान्तरण, सामाजिक गतिविधिसँगै हाइटेक पुस्तकालय बनाउन लागिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर