नगरपालिकाले घर भत्काइदिएपछि ६ महिनादेखि त्रिपालमुनि सुकुम्बासी — OSNepal

नगरपालिकाले घर भत्काइदिएपछि ६ महिनादेखि त्रिपालमुनि सुकुम्बासी

LC (KTM) August 30, 2021 0

झापा, १४ भदौ- दमक नगरपालिकाले डोजर लगाएर घर भत्काएपछि दमक–७ पञ्चमुखी टोलका सुकुम्बासीले ६ महिनादेखि त्रिपालमुनि जीवन बिताइरहेका छन् । २७ चैतमा नगरपालिकाको जग्गामा बसेको भन्दै हाटखोला र पञ्चमुखी टोलका २० घर सुकुम्बासीको उठिवास लगाएको थियो । त्यसमध्ये हाटखोलाका सुकुम्बासीलाई दमक नगरपालिकाले व्यवस्थापन गर्यो भने पञ्चमुखी टोलका सात घर सुकुम्बासी त्रिपालमुनि छन् ।

भत्काएको घर भएकै क्षेत्रमा उनीहरू त्रिपाल टाँगेर बसिरहेका छन् । ०५७ सालदेखि बस्दै आएका सुकुम्बासीलाई नगरपालिकाले विना विकल्प उठाएको थियो । त्यहाँ सुकुम्बासीले बसोबास गरेको धेरैपछि मात्र त्यो जग्गा दमक नगरपालिकाको नाममा दर्ता भएको सुकुम्बासी युवा मनाहाङ्ग सुब्बा बताउँछन् । ‘हामी यहाँ बस्दा होली थियो । होली पुरेर यो ठाउँलाई । राम्रो बनाएर बस्यौँ । पछि दमक नगरपालिकाले आफ्नो नाममा दर्ता गरेछ,’ उनले भने, ‘हामीलाई कुनै पनि विकल्प नदिई घर भत्काइदियो । अहिले त्रिपालनुनि छौँ ।’

बर्खा लाग्नै लाग्दा नगरपालिकाले घर भत्काएपछि अहिले उनीलाई झरी छेक्नै मुस्किल भएको छ । लगातार पर्ने बर्खे झरी त्रिपाल छिचोलेर उनीहरूको अछ्यानसम्म पुग्छ । ‘पानी परेपछि रातभर सुत्न सकिँदैन । त्रिपालमा पानी जम्छ । त्यही पानी फालेर रात कटाउनुपर्ने बाध्यता छ,’ सुकुम्बासी मुना लिम्बू भन्छिन्, ‘यसरी बसेको पनि छ महिना भयो । सुरुमा त नेताहरू हामी गर्दिन्छौँ भन्थे । अहिले त कोही आउन छाड्यो ।’

त्रिपालमुनि केटाकेटी छन् । उनीहरूलाई बर्खे झरीबाट जोगाउनै मुस्किल भएको उनी बताउँछिन् । ‘हामी त पानी भिजेर भए पनि रात कटाउँछौँ । केटाकेटीलाई यस्तो दुःखमा राख्ने मन थिएन,’ न्युज कारखानासँग उनले भनिन्, ‘तर सरकारले नै यस्तो हालत बनायो ।’

बस्तीमा दलित र अदिवासी छन् । संविधानले भूमिहीन दलित र भूमिहीनलाई जग्गाधनी बनाउने व्यवस्था गरेको छ । भूमि ऐनमा त अन्यन्त्र जग्गा भएर पनि अव्यवस्थित रूपमा बस्दै आएकालाई एकपटकका लागि जग्गा दिने उल्लेख छ । यसका लागि केही मापदण्ड छ । दमक नगरपालिकाले तत्कालीन समयमा भूमि समस्या समाधान आयोगमा सुकुम्बासीको फारम भराएर आफ्नो घर भत्काएको सुकुम्बासी धनकुमारी विश्वकर्मा बताउँछिन् । ‘हामी सकुम्बासी नभएको भए किन फारम भोरायो ? पछि किन घर नै भत्काइदियो ?,’ उनी भन्छिन्, ‘चुनावका बेला सकुम्बासीलाई जग्गा दिन्छौँ भन्दै भोट मागे अहिले जितेपछि हामीलाई नै लखेटे ।’

नगरपालिकाले घर भत्काएपछि सात परिवारका ३८ जना अहिले त्यहीँ त्रिपाल र घर भत्काएर बाँकी रहेको बाँसको टहरा बनाएर बसेका छन् । बर्खामा पर्ने पानीमा रुझ्दै उनीहरूको दैनिकी बितेको छ । यही ठाउँमा मनिष विश्वकर्माकी श्रीमती अनुषाले छोरी जन्माइन् । ‘यस्तै ठाउँमा श्रीमती सुत्केरी भइन् । कस्तो कस्ट भयो होला हामीलाई कसैले सोचेको छ ?,’ उनी भन्छन्, ‘दिनैपिच्छेको झरीले नानी र सुत्केरी भिज्न थालेपछि माइत पठाएँ । हामी त जसरी भए पनि बसेका छौँ र बस्छौँ ।’

खानेपानीका लागि उनीहरूले अरूको भर पर्नुपरेको छ । बारेर सानो शौचालय बनाएका छन् । त्यसलाई ३८ जनाले प्रयोग गर्नुपर्दा गाह्रो भएको सुकुम्बासी बताउँछन् । विजुली अर्काकोबाट तानेका छन् । भएको ट्युबेल नगरपालिकाले भत्काइदियो । विजुलीको तार काटेर लग्यो । त्यति मात्र हैन बर्खामा टहरमामा पर्स पसेर हैरान लगाएको सुकुम्बासी बलबहादुर विश्वकर्माले बताए । केही महिनाअघिसम्म त उनीहरूको व्यवस्थापन त परै जाओस् दैनिक प्रहरी पठाएर नगरपालिकाले सुकुम्बासीलाई मानसिक यातना दिने गरेको थियो ।

‘सधैँ बिहानै पुलिस आएर धम्की दिन्थ्यो । एकपटक त टहरा बनाएको भनेर आएर मेरी श्रीमती कोपिलालाई बेहोस हुने गरी कुट्यो,’ बलबहादुर भन्छन्, ‘अहिलेचाहिँ त्यसरी आउन छाडेको छ । हामी त्रिपालमुनि बसेको अगाडि वडाध्यक्ष भीम पौडेलको पाँच तले घर छ । उनी कहिल्यै हामीकहाँ आइपुगेनन् । सुकुम्बासीको टहरामा घोडा–घोडा पानी पस्ता उनले देखेनन् । हाम्रो अगाडिको चार तले विल्डिङमा पानी पस्यो भनेर ढल सफा गर्न डोजर लिएर वडाध्यक्ष आए । मेयर र उपमेयर बल्ल एकपटक आए ।’

घर भत्काएपछि उनीहरूलाई नगरपालिकाले बनाएको नमुनाबस्तीमा जान आग्रह ग¥यो । तर, उनीहरूले जग्गाधनी प्रमाणपूर्जासहित भए जाने अडान लिए । ‘त्यहाँ गएर पनि सुकुम्बासी नै हुने हो । त्यहाँ त अर्काले बनाएको घर हो । आफ्नो घर त भत्कायो । त्यहाँ त के हुन्छ भन्नै सकिँदैन नि !,’ मनाहाङ्ग भन्छन्, ‘कानुन र संविधानले जग्गा धनी बनाउने भनेको छ । फेरि धनीपूर्जाविनाको घरमा हामी किन जाने ?’ एउटै पल्टको नक्सामा दमक–७ का वडाध्यक्ष भीम पौडेलको नम्बरी जग्गामा घर भएको र आफूहरूको त्यही पल्ट नगरपालिकाको भएको भन्दै लखेटेको मनाहाङ्ग बताउँछन् ।

दमक नगरपालिकाले भने व्यवस्थापन गर्न खोज्दा सुकुम्बासीले नमानेको दाबी गरेको छ । नगरप्रमुख रोमनाथ ओलीले नमुना बस्तीमा जान भनिएको र नमुना बस्तीमा नजानेलाई नगरपालिकाले नै घर भाडाको व्यवस्था गरेर राख्ने भन्दा पनि सुकुम्बासीले नमानेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर