१५ वर्ष एमालेको महासचिव बनेका माधवलाई संसदीय दलको नेता बन्न नै अर्को पार्टी खोल्नु पर्यो — OSNepal

१५ वर्ष एमालेको महासचिव बनेका माधवलाई संसदीय दलको नेता बन्न नै अर्को पार्टी खोल्नु पर्यो

LC (KTM) August 29, 2021 0

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए । संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचितसमेत हुन पुगे ।

संविधानसभाको चुनावमा आफ्नो हार तथा एमालेको कमजोर प्रदर्शनपछि पराजयको जिम्मेवारी काँधमा थापेर एमाले महासचिवको पद त्यागेका नेपाल, एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारी बोक्न तम्तयार भए । तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई संविधानसभामा मनोनीत गरेका थिए । २०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपपछि एमालेको महासचिवको रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए ।

यतिबेला भने माधव नेपाल एमालेको नभई नवगठित एकीकृत समाजवादी संसदीय दलको नेता चयन भएका छन् । समाजवादीमा ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर