एमाले विभाजनपछि बागलुङमा ओलीकी माधव नेपाल शक्तिशाली ? — OSNepal

एमाले विभाजनपछि बागलुङमा ओलीकी माधव नेपाल शक्तिशाली ?

LC (KTM) August 29, 2021 0

बागलुङ, १३ भदौ । सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले विभाजनको असर जिल्लामा देखिन थालेको छ । जिल्ला नेतृत्वमा रहेका नेताहरु विभाजित हुन थालेका छन् । प्रतिनिधिसभा विघटन हुँदा पार्टी संस्थापन लाइनविरुद्ध रहेका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पार्टी विभाजनको विपक्षीमा छन । जिल्ला कमिटी सचिव लालबहादुर थापा नवगठित नेकपा एकीकृत समाजवादीको जिल्ला संयोजक चयन भएका छन् ।

जिल्ल कमिटीका उपाध्यक्ष कृष्ण पाठक, सहसचिव विष्णु भुषाल पनि पार्टी विभाजनको पक्षमा उभिएका छन् । प्रभावशाली नेता हिराबहादुर केसी कुनै पनि समूहमा खुलेर लागेका छैनन् । एमालेका पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा नवगठित पार्टीको विचार समूहसँग निकटता देखिएका छन् ।

नेकपा एमाले विभाजनपछि जिल्लामा पहिलोपटक समाजवादी पार्टीले भेला आयोजना गरेको छ । नेकपा एमालेलेको औपाचारिक भेला, बैठक हुन सकेको छैन । एमालले १८ भदौमा जिल्ला भेला आयोजना गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसम्म तत्कालीन एमालेका नेता माधव नेपाल पक्षमा रहेका जिल्ला कमिटी सदस्य तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पार्टी विभाजनको विपक्षमा उभिएका हुन् ।

नेकपा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य पाठक र मना केसी तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र सावित्रा राना नेकपा एमालेमै रहेका छन् । ‘हामीले उठाएका मुद्दाहरु कम्युनिष्ट पार्टीलाई आधारभूत जनताको पार्टी बनाउनु पर्यो भर्ने हो’ अध्यक्ष सापकोटाले भने, ‘यसको समाधान अलग पार्टी हुँदै होइन ।’ नेकपा एमालेले भदौ १८ गते जिल्ला भेला आयोजना गरेको छ । भेलाले वडा तथा टोलसम्मका संगठनलाई चलायनमान बनाउने उनले बताए ।

जिल्ला सदरमुकाममा उपलब्ध नेकपा एकीकृत समाजवादीमा आस्था राख्ने नेताहरुको बैठकले तत्कालीन नेकपा एमालेका सचिव रहेका थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । बैठकले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य (बागलुङ नगरपालिका–२ का वडाध्यक्ष) र हिमाल शर्मा रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको संयोजक थापाले जानकारी दिए । शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्मर श्रीस (गलकोट नगरपालिका–११ का वडाध्यक्ष) तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमिति गठन गरेको छ ।

भेलाले सुरज बोसेल संयोजक रहेको युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । भदौ महिनाभित्र नै जिल्ला भेला आयोजना गरी जिल्ला कमिटीलाई पूर्णता दिने संयोजक थापाले जानकारी दिए । भेलामा संविधानसभाका सदस्य रामजीप्रसाद शर्मा, नेकपा एमालेका पूर्वाअध्यक्ष श्रीप्रसाद शर्माको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर