आत्मनिर्भर जिल्लामै च्याउ अभाव — OSNepal

आत्मनिर्भर जिल्लामै च्याउ अभाव

LC (KTM) August 29, 2021 0

झापा- च्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो, झापा । झापामा बर्सेनि झण्डै ६ लाख केजी च्याउ उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाको तथ्यांक छ । यहाँको च्याउ झापा, मोरङ, सुनसरीसहित पूर्वी पहाडका जिल्लासम्म जाने गरेको थियो । तर, पछिल्लो समय बजारमा च्याउको अभाव देखिएको छ ।

कोरोना महामारीले लामो समयसम्म भएको निषेधाज्ञाका कारण कृषकले ठूलो क्षति व्यहोर्नुपरेकाले पेशाबाटै पलायन हुने अवस्था आएको थियो । जसका कारण पछिल्लो उत्पादनले बजारको मागलाई धान्न सक्ने अवस्था छैन । कोरोना महामारीका कारण जिल्ला प्रशसन कार्यालयले लगाएको निषेधाज्ञाले विगतमा उनीहरूले उत्पादन गरेको च्याउ बजारसम्म पुर्‍याउनै पाएनन् । उनीहरूले उत्पादन गरेको च्याउ बजार लैजान नपाउँदा कुहाएर फाल्नुपरेको थियो । जसका कारण निषेधाज्ञामा लाखौँ घाटा व्यहोर्नुपरेका कारण कतिपय किसान पेशाबाटै पलायन हुने अवस्थामा पुगेको च्याउ उत्पादन किसान संघका अध्यक्ष ज्ञानेन्द्र गौतम जानकारी दिए ।

उनका अनुसार लकडाउनका समयमा झापामा दैनिक १५ हजार केजीसम्म च्याउ फाल्नुपर्ने अवस्था थियो । तर, कोरोना महामारीसँगै भएको निषेधाज्ञाले कृषक मर्कामा परेको उनी बताउँछन् । ‘निषेधाज्ञामा फाट्टफुट्ट गाउँमा बिक्री हुन्थ्यो । बाँकी त सबै नष्ट गर्नुपरेको थियो,’ उनी भन्छन्, ‘ऋण लिएर खेती गरेका किसान पलायन हुने अवस्थामा पुगे त्यही कारण अहिले कम खेती लगाएकाले बजारमा च्याउनको अभाव छ ।’

लकडाउनको समयमा दैनिक एक हजार केजीसम्म च्याउ नष्ट गर्नुपरेको झापा गौरादह-४ स्थित सीता च्याउ उद्योगकी संचालक की सीता खड्का बताउँछिन् । ‘लकडाउनमा त ऋणमा डुब्नुसम्म डुबियो,’ उनी भन्छिन्,‘त्यसको क्षति अझै पूरा हुनसकेको छैन ।’

लामो समय पछि खुलेको बजारमा च्याउ माग ह्वातै बढेको छ । लामो समयको बजार बन्दले च्याउ फाल्नु पर्ने अवस्था आएकोले किसानले खेती घटाएका छन् । जसका कारण माग अनुसारको च्याउ उत्पादन गर्न नसकेको किसान नलबहादुर खड्का बताउँछन् । ‘अहिले त मूल्य पनि एक सय ४० देखि एक सय ८० सम्म छ । अस्ति बजार बन्द हुँदा डराएर खासै उत्पादन गर्न सकिएन,’ उनी भन्छन्, ‘अहिले बजारको माग र मूल्य बढेको छ ।’

च्याउ खेतीको प्रवर्द्धनका लागि जिल्लामा सरकारको अनुदानमा च्याउ पकेट र च्याउ ब्लक कार्यक्रमसमेत चलाउँदै आएको छ । ब्लक संचालन गर्दैै आएका किसानले समेत बजार बन्दले धेरै च्याउ लगाउन सकेनन् । त्यसकारण मागअनुसारको च्याउ उत्पादन गर्न समस्या भएको जवेगु च्याउ उद्योग दमक-२ का संचालक नेत्रप्रसाद जवेगु बताउँछन् । ‘लकडाउनले च्याउ उत्पादन घटाइयो । अहिले माग बढेको छ,’ उनले भने,‘फेरि खेती बढाएको छु ।’

झापामा कृषकले वर्षमा तीनपटकसम्म खेती गर्दै आएका थिए । तर, कोरोना महामारीका कारण बजार बन्द भएपछि कतिपय किसानले एकपटक मात्र उत्पादन गरेका छन् । उत्पादन गरेर पनि बजार सुनिश्चित नहुँदा धेरै च्याउ खेर गएकोले खेतीमा प्रभाव परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘झापाबाट काठमाडौंसम्म च्याउ जाँदै आएको थियो । तर, लकडाउनमा जान नसकेको कारण किसानलाई समस्या भयो,’ उनले भने, ‘पछिल्ले समय समग्रमा झापामा उत्पादन घटेकै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर