डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन — OSNepal

डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

Kesh Karki (USA) August 27, 2021 0

वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो । खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब किसानले आफ्ना खेतबारीको माटोको उर्वराशक्तिबारे थाहा पाउने भएका छन् । प्रयोगशालाको सुविधासँगै समयसमयमा माटो परीक्षण गछाँै ।” प्रयोगशालाका माध्यमबाट माटामा भएका अम्लीयपन घटाउन, प्राङ्गारिक मलको मात्रा बढाउन र बिरुवालाई आवश्यक पर्ने पोषकतत्वबारे जानकारी लिन सकिने उपाध्यक्ष रञ्जना घिमिरेले बताउनुभयो ।

यहाँका खेतीयोग्य जमिनका माटो परीक्षण गरेर उपयुक्त बाली लगाउन सुझाव दिइने कृषि कार्यालयका प्रमुख सुवास खनालले जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “हामीले परम्परागत खेतीमा मात्र ध्यान नदिएर आधुनिक कृषि प्रणालीमा पनि लाग्न जरुरी छ । माटो जाँच्न हेटौँडा पुग्नुपर्ने बाध्यता अब अन्त भएको छ । यहाँ हरेक बालीका लागि सुहाउँदो वातावरण भएकाले आगामी दिन माटो सुहाउँदो खेती गर्न प्रेरित गर्छौँ” ।गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँको भू–बनोट र हावापानी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो । यसैगरी ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ः वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरिने तथा कृषिलाई आयामूलक र मर्यादित व्यवसायका रुपमा विकास गरिने योजनासमेत प्रस्तुत गरिएकोे थियो ।

गाउँपालिकाभित्र कृषि प्रसार, बजार व्यवस्थापन, बाँझो जमिन उपयोग, जनशक्ति व्यवस्थापन, चक्लाबन्दी कृषिलाई प्रोत्साहन, सहकारीको विस्तार र सामूहिक खेती गरी एकै प्रकारको बाली लगाउन प्रेरित गरिने जनाइएको थियो । वडा नं ४ प्युटारमा यसै आवदेखि कृषि हाट बजार सञ्चालनमा ल्याइने तथा माल्टा, प्युटार, आश्राङ र गिम्दीमा लसुनप्याज मिसन कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर