घलेगाउँका होमस्टे पर्यटकका लागि खुला गरिएसँगै बढ्यो चहलपहल — OSNepal

घलेगाउँका होमस्टे पर्यटकका लागि खुला गरिएसँगै बढ्यो चहलपहल

LC (KTM) August 27, 2021 0

लमजुङ, ११ भदौ – कोभिड १९ का कारण वैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे पर्यटकका लागि खुला गरिएको छ । एक हप्ता अघिदेखि घलेगाउँको होमस्टे खुला गरिएको हो ।

बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको बताए । पर्यटक आगमन खुला गरिएसँगै जिल्लाभित्र र जिल्ला बाहिरका पर्यटक पनि आउन थालेका छन् । घरवास खुला गरेसँगै घलेगाउँमा दैनिक २०/२५ जना पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव विकले बताए ।

कोरोनाको त्रासले नआएका पर्यटक यतिबेला आउन थालेपछि घरबासमा चहलपहलसँगै आम्दानी हुँदा घरबास सञ्चालक खुसी भएका छन् । प्रकृतिले सिंगारिदिएको घलेगाउँ आफैंमा सुन्दर छ भने घरबास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३७ घरमा सञ्चालन गरिएको छ ।
समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो । घलेगाउँमा नमुना चिया बगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ ।

हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । माछापुच्छ्रे अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आनन्दीत बनाउँछ ।

पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर